एमाले विवाद: समाधान खोज्ने विषयमा नेताहरु सहमति नजिक, बैठक बोलाउने तयारी

काठमाडौं, असार १ । पछिल्लो समय प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीबाट निष्किाशित भएका वरिष्ठ नेता माधव नेपाल समूह पक्षबीच एकताको संभावना बढेर गएको छ।

पछिल्ला केही दिनयता दुवै पक्षका दोस्रो तहका प्रभावशाली नेताबीच घनिभूत छलफल भइरहेको छ। उक्त छलफल सकारात्मक दिशातर्फ अगाडि बढिरहेको नेताहरुले बताएका छन्।

दुवै समूह माधव नेपाल समूहले माग गरे जस्तो जेठ २ २०७५ मा पार्टीलाई फर्काउन अध्यक्ष ओली सहमत भएका छन्। अब चाँडै माधव नेपाल समूहसहितको स्थायी कमिटी बैठक बोलाउने र त्यहीँबाट विवादका विषयमा समाधान खोज्ने विषयमा नेताहरु सहमति नजिक पुगेको छलफलमा सहभागी नेताले डिसी नेपाललाई जानकारी दिए।

पार्टीभित्रको आन्तरिक विवाद बढ्दै जाँदा विपक्षी मोर्चा शक्तिशाली हुँदै जानु र प्रधानमन्त्री ओलीले एकपछि अर्को क्षति व्यहोर्नु पर्ने अवस्था आएपछि ओली पार्टी विवाद समाधान गर्न सकारात्मक भएका हुन्।

पछिल्लो समयएमालेका मुख्यमन्त्रीहरूले आफ्नै सांसदहरूबाट त्रसित हुनुपर्ने अवस्था आइपरेको छ। पार्टीभित्रको द्वन्द्व बढ्दै गएपछि घोषित रूपमै विपक्षी मोर्चामा सामेल भएको खनाल–नेपाल समूह प्रदेशमा भने केही लचक बनेको छ। सो समूह गण्डकी, प्रदेश १ र बागमती प्रदेशमा ओलीसँग नजिकिँदै सहकार्य गर्न पुगेपछि एमालेभित्रको राजनीतिमा यू–टर्न संकेत देखिएको छ।

पार्टी अध्यक्ष ओलीविरुद्ध खरो रूपमा प्रस्तुत भएका अष्टलक्ष्मी शाक्य, भीम आचार्य र राजेन्द्र पाण्डेलगायतका नेताहरूले प्रदेशहरूमा एकताको अगुवाइ गरिरहेका छन्।

अदालतले दशौं आयोजक कमिटीको कारबाहीलाई मान्यता नदिएपछि एमाले एकताका लागि ढोका खोलेको निष्कर्षका साथ ओलीलाई सच्चिन थप मौका मिलेको भन्दै आफूहरू पनि पार्टी एकताकै पक्षमा उभिन पुगेको खनाल नेपाल समूहका प्रदेशस्तरीय नेताहरूको भनाइ छ।

यसैबीच एमाले नेता वामदेव गौतम र संगठन विभाग प्रमुख विष्णु पौडेलबीच भेटवार्ता भएको छ। उनीहरूबीच सोमबार लामो छलफल भएको थियो।

गण्डकी प्रदेशमा धक्का बेहोरेको एमालेले आन्तरिक एकताको कसरत गरिरहेको छ। ‘वामदेव गौतमले जेठ २ कै स्थायी कमिटी बोलाउन माग गरिरहेका छन्। उनीहरूबीच त्यही विषयमा कुराकानी भएको हो। गौतम र पौडेलबीच नियमितजसो संवाद भइरहेको छ,’ स्रोतले भन्यो।

एमाले स्रोतका अनुसार आ–आफ्नो अडानमा रहेका नेताहरूको अहिलेको अवस्थामा स्थायी कमिटी बैठक कसरी बोलाउन सकिन्छ रु भन्ने विषयमा छलफल भएको छ । यसअघि पौडेलले वरिष्ठ नेता नेपालसँग समेत छलफल गरेका थिए।

यसअघि ओली र नेपालले छुटाछुटै विभिन्न ६ बुँदे प्रस्ताव गर्दै एकताका लागि आह्वान गरेका थिए। तर, एकले अर्काको प्रस्ताव अस्वीकार गर्दै आएका थिए। विवादकैबीच ओलीलाई भेटेका गौतमले २ जेठको संरचनाअनुसारको स्थायी कमिटीको बैठक बोलाएर त्यहीँबाट समस्या समाधान गर्न अपिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्