ओलीले अध्यक्ष वा प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्नेसहित युवा संघले अघि सार्‍यो पाँच बुँदे माग

काठमाडौं, असार १ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ वागमती प्रदेश कमिटीले २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

खनाल–नेपाल समूह निकट युवा संघले प्रतिनिधिसभा विघटन गर्नु गलत भएको भन्दै आत्मालोचना गरेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव समेत दिएको छ ।

पार्टी एकताका लागि ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिएर एकताको पक्षमा उभिन पनि माग गरिएको छ । एक व्यक्ति एक पद कायम हुनुपर्ने युवा संघका पदाधिकारीको सुझाव छ ।

‘एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आम कार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ पाँच बुँदे माग

क- नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी अर्थात् २०७५ जेष्ठ २ गतेको पार्टी कमिटीलाई क्रियाशिल बनाउनको लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री कमरेड केपी ओलीलाई जोडदार माग गर्दछौँ ।

ख-जनताको प्रतिनिधिमूलक संस्था संघीय प्रतिनिधिसभा विघटन गर्नु गलत थियो भनी त्यसमा आत्माआलोचना गरी अगाडि बढ्नका लागि अध्यक्ष कमरेड केपी ओलीलाई जोडदार माग गर्दछौँ ।

ग-एक ढिक्का नेकपा ९एमाले० ले मात्रै नेपालको कम्युनिस्ट आन्दोलनमा बृहत्तर योगदान दिने स्पष्ट छ । यसर्थ अब पनि विधि र विधानविपरीत हिँड्नु सर्वनाशको बाटोभन्दा केही नहुने भएकाले त्यसबाट जोगिनका लागि नेताहरूलाई एक ठाउँमा राखी विधि र पद्धतिअनुसार २०७५ जेष्ठ २ गतेको कमिटी ब्युँताउँदै बैठक राखी छलफल र बहस चलाउन जोडदार माग गर्दछौँ ।

घ- एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आम कार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौं ।

ङ- विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप नेपाली जनताले यथाशीघ्र लगाउन पाउने व्यवस्था गरी सम्पूर्ण आम नेपाली जनताको जीवनरक्षा गर्नको लागि जोडदार माग गर्दछौँ ।

 

प्रतिक्रिया दिनुहोस्