प्रदेशहरूमा घट्यो बजेट

काठमाडौं, असार २ । देशभरका सात प्रदेशहरूले समग्रमा चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि कम आकारको बजेट ल्याएका छन् ।

आगामी आर्थिक वर्षका लागि सात प्रदेशको कुल बजेटको आकार दुई खर्ब ६१ करोड ८६ लाख रुपैयाँ छ । यो चालू आर्थिक वर्षको कुल बजेटको तुलनामा तीन अर्ब ७४ करोड रुपैयाँ कम हो । चालू आर्थिक वर्षमा दुई खर्ब ६५ करोड ६० लाख रुपैयाँको बजेट प्रदेशहरूमा आएको थियो ।

आगामी आर्थिक वर्षलाई प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशले चालू आवको तुलनामा बजेटको आकार घटाएका छन् । प्रदेश १ ले चालू आर्थिक वर्षमा ४२ अर्ब ३० करोडको बजेट ल्याएकोमा आगामी वर्षका लागि ३२ अर्ब ३६ करोडको मात्रै बजेट ल्याएको छ ।

यो चालू आर्थिक वर्षको तुलनामा २३ प्रतिशत कम हो । प्रदेश १ मा चालू आर्थिक वर्षका लागि सुरुमा ४० अर्ब ८९ करोड रुपैयाँको बजेट ल्याएकोमा संघीय ससर्त अनुदान एक अर्ब ४० करोड ४८ लाख थप भएर ४२ अर्ब ३० करोड बजेट आकार पुगेको त्यहाँका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले जानकारी दिए ।

त्यस्तै, गण्डकी प्रदेशमा चालू आवमा ३४ अर्ब ८४ करोडको बजेट ल्याइएकोमा आगामी आर्थिक वर्षका लागि ३० अर्ब ४ करोड मात्रै विनियोजन गरिएको छ । यो चार अर्ब ८० करोड रुपैयाँ कम हो । सुदूरपश्चिम प्रदेशले पनि आगामी आवलाई बजेट घटाएर ल्याएको छ । चालू आर्थिक वर्षका लागि सुदूरपश्चिमले ३३ अर्ब ३८ करोडको बजेट ल्याएकोमा आगामी आवका लागि ३० अर्ब तीन करोड रुपैयाँमा झारेको छ ।

आगामी आर्थिक वर्षमा बागमती प्रदेशले चालू वर्षको भन्दा ६ अर्ब ३० करोड ठूलो बजेट ल्याएको छ । यो प्रदेशले चालू आर्थिक वर्षका लागि ५१ अर्ब ४३ करोडको बजेट ल्याएकोमा आगामी आवका लागि ५७ अर्ब ७२ करोड रुपैयाँको बजेट ल्याएको छ । लुम्बिनी प्रदेशले चालू आवमा ३६ अर्बको बजेट ल्याएकोमा आगामी आवका लागि करिब ४१ अर्ब पु¥याएको छ । त्यस्तै, कर्णाली प्रदेशले पौने ३४ अर्बको बजेट चालू आवमा ल्याएकोमा आगामी वर्षलाई साढे ३६ खर्बको बजेट विनियोजन गरेको छ । प्रदेश २ ले भने गत वर्षकै हाराहारीको अर्थात् ३३ अर्ब ३३ अर्ब ७९ करोडको बजेट ल्याएको छ ।

चालू आर्थिक वर्षमा ६४ प्रतिशत मात्रै खर्च हुने
प्रदेशहरूमा चालू आर्थिक वर्षमा ६४ प्रतिशत बजेट मात्रै खर्च हुने देखिएको छ । आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित विवरणअनुसार प्रदेशहरूले सो परिमाणमा खर्च गर्न सक्ने देखिएको हो । चालू आवका लागि प्रदेशहरूको कुल बजेट दुई खर्ब ६५ अर्ब रहेकोमा एक खर्ब ६९ अर्ब मात्रै खर्च हुने देखिएको सबै प्रदेशहरूको विवरणका आधारमा नयाँ पत्रिकाले गरेको गणनाले देखाएको छ ।

प्रदेशहरूमध्ये खर्चमा सबैभन्दा कमजोर गण्डकी हुने देखिएको छ । गण्डकी प्रदेशको बजेटमा वर्षको अन्त्यमा कति खर्च हुने उल्लेख छैन । तर, यस वर्षको १० महिनाको अवधिमा करिब ३८ प्रतिशत मात्रै खर्च भएको आधारमा वर्षको अन्त्यमा ४५ प्रतिशत खर्च हुने अनुमान गर्न सकिन्छ ।

त्यस्तै, कर्णाली प्रदेशले चालू आवमा जम्मा ४७ प्रतिशत मात्रै खर्च हुने अनुमान गरेको छ भने प्रदेश १ ले ६० प्रतिशत खर्च गर्ने अनुमान गरेको छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशले ८० दशमलव ६ प्रतिशत खर्च गर्ने अनुमान गरेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्