रोकिएका परीक्षा साउनमै सक्ने त्रिविको तयारी

काठमाडौं , असार ७ । कोभिड १९ को दोस्रो लहर बढेसँगै त्रिभुवन विश्वविद्यालयको परीक्षाहरू स्थगित भएका थिए । निषेधाज्ञा सहज हुने वित्तिकै त्रिविले रोकिएका परीक्षा साउनभित्रै सकाउन तयारी थालेको छ । यसका लागि दुई दिनभित्र सूचना जारी गर्न लागेका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीकाअनुसार सुरुमा परीक्षा चल्दाचल्दै रोकिएका परीक्षाहरू सञ्चालन हुनेछन् । त्यसलगत्तै स्नातक प्रथम वर्षको परीक्षा हुने र यसका लागि दुई दिनभित्र सूचना जारी गर्न लागेको उनले जानकारी दिए ।

यस्तै, स्नाकोत्तर, वैशाखमै तालिका सार्वजनिक गरेको एलएलबी र नियमित तर्फको स्नातकको चौँथो र पाँचौ वर्षको परीक्षा दसैँअघि नै सकाउने कार्यालय जनाएको छ । यसका लागि अनलाइनबाटै फाराम भर्न मिल्ने व्यवस्था गरिएको छ भने विकसित घटनाक्रमलाई हेरेर विद्यार्थीले केन्द्र छान्न पाउने भएका छन् । हाल मुलुकमा कोरोनासँगै बाढी र पहिरोको प्रकोप देखिएकाले समस्यामा परेका विद्यार्थीका लागि परीक्षा दिन मिल्ने वातावरण बनाइदिने नियन्त्रक जोशी बताउँछन् ।

स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा गराउन परीक्षा केन्द्र थप गरिने तथा प्रश्नपत्र कसरी पठाउने भन्नेबारे छलफल चलिरहको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्