विपक्षी गठबन्धनको हातमा सत्ता पुगे चुनाव हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं , असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनका हातमा सत्ता पुगे उनीहरुले कहिल्यै चुनाव नगर्ने बताएका छन् ।

सोमबार बालुवाटारमा मदन भण्डारी फाउण्डेसनले गरेका कार्यक्रममा प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनका नेताहरुले आफुलाई संविधान च्यातेर उल्टो स्याल हुइँया मच्चाएको आरोप लगाए ।

‘संविधान च्यात्ने दिशामा उहाँहरु जानु हुन्छ ,उल्टो हल्ला गर्नुहुन्छ । स्याल हुया मच्चाउनुहुन्छ केपी ओलीले संविधान च्यात्यो भनेर’, ओलीले भने, ‘जनताका बीचमा जाऊ भन्दा संविधान च्यातिन्छ ?  चुनावै हुन नदिने परिस्थिति । कथम् उहाँका हातमा भोली पुगेपनि चुनाव हुनेवाला छैन । कस्ता तत्वहरु छन् ? ’

एमालेको बरिष्ठ नेता भन्दै एमाले ध्वस्त पार्ने, अनुशासनहिन अराजकताको नमुना माधव नेपाल रहेको आरोप पनि उनले लगाए । ‘दुनियाँका कुनैपनि राजनीतिक इतिहासमा माधव नेपाल जति अराजक र इमान नभएको मान्छे कोही छैन । मदनको विरोध गर्ने, विचारको विरोध गर्ने तर आज त यसो हेर्छु मदन भण्डारीका नाममा वक्तव्य आइरहेको छ’, ओलीको भनाइ छ ।

ओलीले मदन भण्डारीको विचारलाई लिएकोमा आफूलाई खुसी लागेको पनि बताए । साथै ओली विपक्षी गठबन्धनका शीर्ष नेताहरूप्रति खनिएका छन् । उनले काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनमोर्चाका नेताहरुको नाम लिदै नेपाली राजनीतिमा झुठ र बेइमानीहरूको चलखेल बढेको आरोप लगाए । उनले माधव नेपालले प्रधानमन्त्रीको प्रस्ताव ओलीले गरे भनेर दिएको अभिव्यक्तिको खण्डन गर्दै आफुले उनलाई प्रधानमन्त्रीका लागि कुनै प्रस्ताव नगरेका दावी गरे ।

‘माधव नेपाल भन्ने एकजना छन् काँग्रेसको पछाडी कुद्ने सवैले चिन्छन् । किनभने असाध्यै चर्चा भइरहेको छ । यतिसम्म पनि मान्छे पतन हुनसक्दो रहेछ’, उनले भने, ‘आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिस्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर फेरि हिँड्ने यस्तो लाजसरम पचेको मान्छे ।’

उनले नेता नेपाललाई देउवाकै कार्यकर्ता हुनसक्ने भन्दै नेपाल प्रचण्डको एउटा मामुली कार्यकर्ता भएको समेत बताए । ‘मैले माधव नेपाललाई प्रमको प्रस्ताव गरे रे, के मलाई बौलाहा कुकुरले टोकेको छ र रु आफ्नो महत्व आफै बढाउन खोजेको हो । एक ढंगले भन्ने हो भने यी प्रचण्डका पुच्छर हुन्’, ओलीको भनाई छ । उनले काँग्रेस के कारण आन्दोलनमा उत्रिएको भन्दै प्रश्न समेत गरे ।

उनले केही मानिसहरुमा विचार उदेश्य हराएको भन्दै सम्मृद्ध नेपाल सुखी नेपालीको मार्गदर्शन छोडेर व्यक्तिगत अहंकार कुण्ठामा रमाउने गरेको आरोप लगाए । ओलीले राजनीतिक दलका कार्यकर्तालाई विचारबाट चल्ने भन्दा पनि खेतालाका रुपमा प्रयोग गर्न थालेको भन्दै विपक्षी गठबन्धनको चर्को आलोचना गरे ।

त्यस्तै उनले नाथुराम गोड्सेको खोजी गर्ने काँग्रेसले प्रचण्ड पथ अँगालेको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस्