प्रतिनिधिसभा विघटन मुद्दामा आजको बहस सकियो

काठमाडौं, असार १७ । प्रतिनिधिसभा विघटन मुद्दामा आजको बहस सकिएको छ । बिहीबार दिनभर प्रधानमन्त्री तर्फका कानुन व्यवसायीले बहस गरेका छन् ।

बिहीबार वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्रकुमार महतो, अधिवक्ता परशुराम कोइराला, सुवास आचार्य, वरिष्ठ अधिवक्ताहरू महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले बहस गरेका छन् । प्रधानमन्त्री तर्फका कानुन व्यवसायीका लागि बहस गर्न अब १ घण्टा ३० मिनेट समय बाँकी छ ।

यता प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनकर्ताका विपक्षीतर्फका वकिललाई आजको बहसमा लगातार प्रश्न तेर्स्याएका छन् ।

‘विश्वासको मत पाउने सम्भावना थिएन भने संविधान ज्युँदो राख्न केपी शर्मा ओलीले अरुलाई पनि दिन सक्नु हुन्थ्यो नि हैन र ? ’, प्रधानन्यायाधीशको प्रश्न थियो, ‘प्रधानमन्त्री ओलीले एक पटक विघटन गर्नुभयो अदालतले मिलेन भनी विघटन बदर ग¥यो । यसरी बदर गर्दा संविधानको दायित्व र अरु समेत भन्यो । यो अवस्थामा प्रम ओलीले आफू मात्र हुने अरु बनाउने दायित्वबाट किन विमुख हुनुभयो? ’

यसअघि संविधानको धारा ७६ (५)लाई अन्य धारासँग जोडेर बहस जारी राखेपछि प्रधानन्यायाधीश राणाले पूर्व महान्यायाधिवक्ता समेत रहेका अग्नि खरेललाई प्रश्न राखेका थिए ।

उनले प्रश्न गर्दै भनेका थिए, ‘संविधानका सबै धारा उपधारा स्वतन्त्र छन् । उपधारा ५ स्वतन्त्र हो भने अनि अरु धारासँग जोडेर पृथक तरिकाले व्याख्या गर्न मिल्छ ? ’ राणाले उपधारा ५ मा दलको र स्वतन्त्र समर्थन गरेर सरकार बन्न सक्ने भन्ने कुरा आएको छ यसलाई प्रष्ट पार्नुहोस् ?  भन्दै अर्को प्रश्न गरेका थिए ।

‘उपस्थितिलाई कसरी हेर्ने भन्ने कुरा पनि आएको छ । देउवाको हकमा हेर्दा माओवादी र कांग्रेसको समर्थन पनि छ अरु दलको पनि कसरी गल्ती भयो ? ’, उनको तेस्रो प्रश्न थियो ।

प्रतिक्रिया दिनुहोस्