युरोकपमा आज इंग्ल्यान्ड र डेनमार्क भिड्दै

काठमाडौँ, असार २३ । यूईएफए युरोकप फुटबलको अन्तिम सेमिफाइनलमा आज बुधबार इंग्ल्यान्ड र डेनमार्क खेल्दै छन्।लन्डनको वेम्बली स्टेडियममा हुने खेल मध्यराति पौने १ बजे सुरु हुनेछ। दुवै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्।

क्वार्टरफाइनलमा इंग्ल्यान्डले युक्रेनलाई ४–० गोलको फराकिलो अन्तरले पाखा लगाउँदै सेमिफाइलनमा स्थान बनाएको थियो।उता डेनमार्कले चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएको हो।

आजको खेलको विजेताले उपाधिका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ। उपाधि भीडन्त आइतबार हुनेछ।पहिलो सेमिफाइनल खेलमा इटालीले स्पेनलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

युरोकपमा शानदार प्रदर्शन गर्दै आएको इंग्ल्यान्ड सोही लयलाई निरन्तरता दिँदै फाइनल पुग्न चाहन्छ।युरोकपमा समूह चरणको खेलमा फिनल्यान्डसँग १–० ले पराजित भएको डेनमार्क त्यसयता लय समाउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो।

फिनल्यान्डसँगको खेलमा क्रिस्टियन एरिक्सन मैदानमा नै ढलेपछि करिब डेढ घण्टा रोकिएको खेलमा डेनमार्क फिनल्यान्डसँग स्तब्ध भएको थियो।  युरोकपमा इंग्ल्यान्ड र डेनमार्क सन् १९९२ पछि पहिलो पटक भेट हुँदै छन्।

प्रतिक्रिया दिनुहोस्