साउनदेखि अवैध मोबाइल नचल्ने

काठमाडौं , असार २३ । नेपाल दुरसञ्चार प्राधिकरणले एमडिएमएस ९मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम० लागू गर्न प्राविधिक काम भइरहेको बताएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्वाध चल्न दिने गरी काम भइरहेको बताए । साउन महिनाभरी मोबाइल प्रयोगकर्ताले आईएमईआई नम्बर दर्ता गराउन समय दिने तयारी गरेको बताए । प्राधिकरणका अध्यक्ष खनालले कमसल, गुणस्तर नभएका र अवैध बाटोबाट किनिएका मोबाइल नचलाउन आग्रह गरे ।

साउन महिना पछि भने आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेटले काम नगर्न सक्ने भएकोले दर्ता गर्न अनुरोध गरे । आगामी साउन १ गते देखि मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम लागू हुने भएकाले अवैध रूपमा भित्रिएका मोबाइल सेट नचल्ने हुन सक्छ । नेपाल सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्दा एमडिएमएस लागू गर्ने घोषणा गरेको थियो ।

एमडिएमएस लागू भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेट चल्दैनन् । अर्थात् यस्ता मोबाइलमा सिम कार्ड राखे पनि काम गर्दैन । मोबाइल व्यवसायीले एमडिएमएस लागू भएपछि नेपालमा अवैध मोबाइल नै नरहने बताएका छन् ।

मोबाईल फोन आयातकर्ता संघका अध्यक्ष समेत रहनुभएका नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक कुमार मलहोत्राले एमडिएमएस प्रणाली लागू भएपछि मोबाइल कारोबार पारदर्शी हुने बताए । करिब ४० अर्बको मोबाइल कारोबारमा १३ अर्बको कारोवार अवैध हुने बताइन्छ । एमडिएमएस प्रणालीले सबै कारोवारलाई वैध मार्गमा लैजाने उनले बताए ।

सिस्टम लागू भएसँगै राज्यको करको दायरा बढ्ने, चोरी आयात रोकिने र ग्राहक ठगिने क्रम रोकिने अध्यक्ष मलहोत्राको भनाइ छ । यस्तै एमडिएमएसमा दर्ता भएका फोनको विवरण तुरुन्त थाहा पाउन सकिने भएकाले मोबाइलको दुरुपयोग गरी हुने अपराध र अपराधी पत्ता लगाउन सजिलो हुने उपाध्यक्ष मलहोत्राले बताए ।

एमडिएमएस प्रणाली पहिलोपटक लागू हुने भएकाले चलिरहेको मोबाइल र विदेशबाट उपहार अनि पर्यटकले बोकेर आउने मोबाइल कसरी चल्न दिने भन्ने बारे मोबाइल फोन आयातकर्ता संघसँग दूरसञ्चार प्राधिकरणले छलफल गरिरहेको छ । छलफलको क्रममा चलिरहेको फोनलाई निश्चित समय दिएर आईएमईआई नम्बर दर्ता गर्न लगाउने सुझाव आफूहरूले दिएको अध्यक्ष मलहोत्राले बताए ।

यस्तै पर्यटकले नेपाल घुम्न आउँदा बोकेर आउने फोनलाई १५ दिनसम्म चल्न दिने र फेरि सुचारु गर्नुपरे भिषा पासपोर्टको विवरण राखेर गर्न सकिने व्यवस्था मिलाउन दुरसञ्चार प्राधिकरणलाई संघले सुझाव दिएको छ । यसैगरी उपहारमा आएको फोनलाई दर्ता गर्नु अघि भन्सारको प्रक्रिया पूरा गरेर मात्रै चल्न दिने व्यवस्था मिलाउन सुझाव दिएको अध्यक्ष मलहोत्राले बताए ।

उपहार आएको फोन पहिलो १५ दिन चलाउन कुनै बाधा नगर्न पनि सुझाव दिएको उनले बताए । एमडिएमएस लागू भएपछि मोबाइल फोन आयातकर्ताले आयात गरेको सम्पूर्ण मोबाइल फोनको आईएमईआई नम्बर दुरसञ्चार प्राधिकरणमा दर्ता गरेर मात्र विक्रि वितरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्