इङल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा

काठमाडौँ । इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा पुगेको हो ।

अब फाइनलमा उपाधिका लागि इङल्याण्डले इटालीसँग प्रतिष्पर्धा गर्ने भएको छ ।सन १९६६ को विश्वकपको उपाधि जितेको इङल्याण्ड त्यस यताको पहिलो ठुलो प्रतियोगिताको फाइनल खेल्ने भएको छ ।अब युरोकपको फाइनल खेल इटाली र इङल्याण्डबीच आइतबार राति नेपाली समय अनुसार १२:  ४५ बजे हुने छ ।

इङल्यान्डको जितमा अतिरिक्त समयको १०४औ मिनेटमा ह्यारी केनले निर्णायक गोल गरेका थिए । इङल्याण्डले पाएको पेनाल्टी हान्दै केनले हानेको पेनाल्टी डेनमार्कका गोलकिपरले बचाएपनि बाउन्स भएर आएको बललाई केनले गोलमा परिणत गरेका थिए ।

केनको यस युरोकपमा यो चौथो गोल हो ।-निर्धारित ९० मिनेटमा दुवै टिमबाट १-१ गोल भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा खेलाइएको थियो ।

खेलको पहिलो हाफमा खेलको ३०औ मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिकबाट सुन्दर गोल गर्दै डेनमार्कलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३९औ मिनेटमा इङल्याण्डका बुकायो साकाले हानेको क्रस बललाई डेनमार्कका सिमन कजीरले आफ्नै पोष्टमा हानेपछि आत्मघाती गोल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्