अटोमेटिक पेस्तोल र भरुवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौं, असार २४ । बाँके र दाङमा अटोमेटिक पेस्तोल र भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९, फुटाहबाट एकथान अटोमेटिक पेस्तोलसहित नेपालगन्ज–२१, पुरैना बस्ने नेपालगन्ज–१२ घर भएका ३१ वर्षीय अजिज अहमद शेषलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पुरैनाबाट राँझातर्फ साइकलमा जाँदै गरेको अवस्थामा उनलाई पेस्तोल्सहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

यस्तै, दाङको दंगीशरण गाउँपालिका–२ स्थित तिलकन्या सामुदायिक वनबाट एकथान भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने २४ वर्षीय मेघराज पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध भरुवा बन्दुक साथमा लिई सिकार खेल्न हिँडेको अवस्थामा प्रहरीचौकी गोल्टाकुरीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्