कांग्रेस महाधिवेशन : समूहगत व्यवस्थापनमा सकस

काठमाडौं, असार २७ । नेपाली कांग्रेसको आसन्न केन्द्रीय महाधिवेशनमा सभापतिका आकांक्षी बढेपछि त्यसलाई व्यवस्थापन गर्न पार्टीभित्रका समूहलाई सकस पर्दै गएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई १४ औं महाधिवेशनमा आफ्ना समूहबाट सर्वसम्मत सभापतिमा एक जना उम्मेदवार बनाउन चुनौती चुलिँदै गएको छ । विगतमा आफ्नो समूहभित्र एकल नेतृत्व गर्दै आएका सभापति देउवालाई यस पटक उपसभापति विमलेन्द्र निधिले संस्थापन समूहभित्रै चुनौती दिँदै देउवालाई नछाड्ने घोषणा गरिसकेका छन् ।

अघिल्लो महाधिवेशनमा देउवा आफ्नो समूहका सर्वसम्मत उम्मेदवार हुँदा पहिलो चरणमा विजय हासिल गर्न नसकी निकटतम प्रतिद्वन्द्वी पौडेललाई दोस्रो चरणमा पराजित गरेका थिए । पहिलो चरणमा बहुमत ल्याउन नसके पहिलो र दोस्रो स्पर्धीबीच अर्को चरणको निर्वाचन हुने विधान कांग्रेसमा रहेको छ ।

पहिलो स्पर्धामा तेस्रो भएका कृष्णप्रसाद सिटौलाले दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए । अघिल्लो महाधिवेशनमा तत्कालीन संस्थापन पक्षको नेतृत्व गरेका वरिष्ठ नेता पौडेललाई यस पटक सबैभन्दा चुनौती हुने देखिएको छ । यसअघि पौडेललाई नेता मानेका नेता डा। शशाङ्क कोइराला, प्रकाशमान सिंहले यसपटक पौडेल नभई आफूहरू नै उम्मेदवार बन्न लगातार बैठक गर्न थालेका छन् ।

त्यसबाहेक शेखर कोइराला, सुजाता कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायतका नेताले पनि सभापति बन्न आफ्नो समूहभित्र ‘लबिङ’ सुरु गरेपछि समूहभित्रकै व्यवस्थापन फलामको चिउरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्