रेड पाण्डाको छाला र भालुको पित्तसहित तीनजना पक्राउ

काठमाडौँ, असार २७ । बाँके प्रहरीले संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० बाट तीन जना पक्राउ परेका हुन् । उनीहरूको साथबाट संरक्षित रेडपाण्डाको छाला १ थान र ४ वटा भालुको पित्त जस्तो देखिने वस्तु बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका-४ ठेगाना भएका ४९ वर्षीय भक्त बहादुर पुन, सोही ठाउँ ठेगाना भएका ४१ वर्षीय केशव पुन र दाङ शान्तीनगर गाउँपालिका-१ ठेगाना भएका २९ वर्षीय रोबिन बुढा छन् ।

गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले तलासी लिने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त वस्तु फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्