अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गर्यो : कांग्रेस

काठमाडौं, असार २८ । प्रतिनिधिसभा विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्ने सर्वोच्च अदालतको फैसलालाई कांग्रेसले स्वागत गरेको छ। कांग्रेस नेता तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले अदालतको फैसला स्वागतयोग्य रहेको बताए।

‘हाम्रो संविधानले कानुन बनाउने अधिकार व्यवस्थापिकालाई, कार्यान्वयन र पालना गराउने अधिकार कार्यपालिकालाई र संविधानको व्याख्या गर्ने अधिकार न्यायपालिकालाई छ। त्यसैले सर्वोच्चको संवैधानिक इजलासले गरेको फैसला स्वागतयोग्य छ,’ उनले भने, ‘यो फैसलाले संविधान र लोकतान्त्रिक पद्धतिको रक्षा गरेको छ। यसले मुलुकलाई अघि बढाउनेछ।’

‘फैसलाले बहुमतको सम्मान गरेको छ। निकास पनि निकालेको छ। यसले जनप्रतिनिधिमूलक संस्थालाई थप सबल बनाउनेछ।’

उनले सर्वोच्चले राष्ट्रपतिको गलत कदम सच्चाएको टिप्पणी गरे। बुहमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी गरेका देउवालाई नियुक्त नगरी सदन विघटन गर्ने राष्ट्रपतिको कदम सही नभएकाले अदालतले त्यसलाई सच्चाइदिएको खाँडको टिप्पणी छ।

‘राष्ट्रपतिले संविधानको ७६ (५) अनुसार सरकार गठनको आह्वान गरेसँगै हामीले प्रतिधिसभाकाका १४९ जना सांसदको दस्तखतसहितको पत्र बुझाएका थियौं। पत्र दर्ता भएपछि देउवालाई नियुक्त गर्नुपर्नेमा दावी पुगेन भनेर सदन विघटन गर्ने राष्ट्रपतिको कदम उचित थिएन,’ उनले भने, ‘फैसलाले बहुमतको सम्मान गरेको छ। निकास पनि निकालेको छ। यसले जनप्रतिनिधिमूलक संस्थालाई थप सबल बनाउनेछ।’

यता कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संक्षिप्त प्रतिक्रिया दिँदै संविधान रक्षा गर्ने अभियान सफल भएको बताए ।

“संविधान रक्षा गर्ने अभियान सफल भएको छ । संविधान र व्यवस्थालाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ,” उनले भने, “यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा सभापति शेरबहादुर देउवालाई बधाई ।”

प्रतिक्रिया दिनुहोस्