प्रतिनिधिसभा पुनर्स्थापना : सर्वोच्च अदालतको फैसलापछि कसले के भने ?

काठमाडौं, असार २९ ।
फैसला जनभावनानुसार :  सभामुख सभामुख

अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘फैसला ऐतिहासिक छ । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै फैसला आएको छ । जनभावनाको कदर भएको छ ।’

ऐतिहासिक फैसला : कांग्रेस

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भन्दै स्वागत गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्चको निर्णयपछि सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको फैसलालाई स्वागतयोग्य कदम भनेका हुन् ।

फैसला त्रुटिपूर्ण तर स्वीकार गर्ने: एमाले

नेपाल कम्युनिस्ट पार्टी (एमाले) सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण भए पनि कार्यान्वयन गर्ने निष्कर्षमा पुगेको छ । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनासँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन फैसला गरेपछि बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

महत्वपूर्ण परिघटना : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसलालाई इतिहासमै एक महत्वपूर्ण परिघटनाका रूपमा लिएका छन् । उनले अदालतको फैसला नेपाल र नेपाली जनताको हितमा रहेका कारण इतिहासले सम्मान गर्ने पनि बताएका छन् ।

फैसला स्वागतयोग्य : जसपा

जनता समाजवादी पार्टी (जसपा) ले सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई अदालतले फेरि एक पटक रोकेको जनाउँदै जसपाले फैसलाको स्वागत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्