साउन ४ देखि जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै, काठमाडौँका यी ४४ केन्द्रबाट खोप दिइने

काठमाडौं , असार २९ । अमेरिकाबाट सोमबार नेपालले प्राप्त गरेको जोन्सन एन्ड जोन्सनको कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप काठमाडौँ जिल्लामा साउन ४ गतेदेखि लगाउन सुरु गरिने भएको छ ।

कोभ्याक्स सुविधामार्फत अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक जोड मात्रै दिइने जोन्सन एन्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले पाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा बसेको बैठकले काठमाडौँका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप दिने निर्णय गरेको हो ।अमेरिकाबाट हिजो जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार जोन्सन एन्ड जोन्सनको खोप पूर्ण र अति अशक्त अपाङ्गता ९वर्ग क र ख० भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने सोमबार नै सरकारले निर्णय गरेको थियो ।

आजदेखि काठमाडौँमा चीनबाट ल्याइएको भेरोसेल खोपको पहिलो मात्रा दिन सुरु गरिसकिएको छ । ५५ वर्षदेखि माथिका नागकिर, विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सर्वाजनिक यातायातमा कार्यरत चालक र सहचालक, खोप लगाउन छुटेका अत्यावश्यक सेवामा कार्यरत कर्मचारी, खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई लगाइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्