जनताको जनादेशले हैन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदैछु : ओली

काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सर्वोच्च अदालतले जारी गरेको आदेशका कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन् ।

राष्ट्रका नाममा सिंहदरबारबाट सम्बोधन गर्दै उनले सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा सोमबार फैसला गरेको थियो ।

सर्वोच्च अदालतले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । संविधानको धारा ७६ को उपधारा ५ मा ओली दाबी गर्न अयोग्य रहेको पनि परमादेशमा लेखिएको थियो । यसतर्फ उल्लेख गर्दै मंगलबार ओलीले भने, जनताको जनादेशले हैन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदैछु ।

मुलुकको सार्वभौम सत्ता र राजकीय सत्ता जनतामा निहित रहनु लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण भएको पनि ओलीले बताए । उनले भने,‘जनादेशका लागि जनतामा जाने व्यवस्थालाई निरंकुश र कानुनको अपव्याख्यामाथि आधिरित भएर एवं दलीय प्रणालीको आधारभूत संरचना भत्काएर सरकार बनने बनाउने कुरालाई लोकतान्त्रिक भनेर गरिने परिभाषालाई गलत दिशातिर धकेल्न सक्छ भन्नेमा हामी गम्भीर र चिन्तित छौं ।’

सरकारबाट बाहिरिँदा आफूलाई कुनै चिन्ता नरहेको ओलीले बताएका छन् । आफूले पदमा रहँदा इमानदारीका साथ काम गरेको पनि दाबी गरे । सरकारबाट बाहिरिनु परेकामा चिन्ता छैन । इमानदारिताका साथ देशको समृद्धि, सुशासन, विकास यी कुराहरूलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पुर्‍याउने कुरालाई ध्यानमा राखेर काम गरेको छु । विकासका निम्ति नयाँ भिजन दिएर अगाडि बढाएको छु, ओलीले भने ।

आफ्नो कार्यकालमा मुलुकमा चौतर्फी विकास भएको ओलीले दाबी गरे । जनताले राहत महसुस गरेको छ । त्यसकारण म बिदाइप्रति खुसी छु । ढुक्क छु । चिन्ता छैन । यस्तै ओलीले धैर्य, सावधानी र आत्मविश्वासका साथ कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै आफ्नो सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को यात्रालाई अघि बढाएको बताएका छन् ।

नयाँ सरकार बन्न लागेका स्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट देशवासीमा नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीका विभिन्न लहरले समृद्धिका यात्रामा गम्भीर धक्का दिए पनि निराश नभई अघि बढाउनुपर्ने बताए ।

उनले विश्वभरि कोभिडविरुद्धको खोप अभाव भए पनि ल्याउने प्रयास जारी भएकाले सबै नागरिकलाई निःशुल्क उपलब्ध गराइने जनाए ।

प्रतिक्रिया दिनुहोस्