ओलीले आज बालुवाटार छोड्दै , स्कर्टिङ गरेर बालकोट पुर्याइने

काठमाडौं , असार ३० । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोड्दै छन् । ओली आज विहान ११ बजे निजी निवास भक्तपुरस्थित बालकोट फर्किने भएका छन् ।

ओलीलाई भातृ संगठन युथ फोर्स र राष्ट्रिय युवा संघ नेपालले स्कर्टिङ गरेर बालुवाटारदेखि बालकोटसम्म पुर्‍याउने तयारी गरेको छ । नेकपा एमालेका नेता महेश बस्नेतले दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई स्कर्टिङ गरेर बालकोट पुर्‍याउने बताएका छन् ।

सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त भएका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगै ओली निजी निवासमा सर्न लागेका हुन् ।

बालुवाटार छोड्नु अघि हिजो खोलीले देशवासीका नाममा सम्बोधन गरेका थिए । गएको सोमवार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्