अख्तियारको डीएसपी हुँ भन्दै वाणिज्य विभागका डीजीलाई थर्काउने अख्तियारकै फन्दामा

काठमाडौं, असार ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डीएसपी हुँ भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीलाई धम्क्याउने एक जनालाई अख्तियारकै टोलीले नियन्त्रणमा लिएको छ।

आयोगको डीएसपी भन्दै विभाग पुगेर अनावश्यक दबाब दिने एग्रोमार्ट नेपाल प्रालिका अध्यक्ष अर्जुन भट्टलाई आयोगले नियन्त्रणमा लिएको हो।

भट्टले एमपी इन्टरप्राइजेजको पुँजी वृद्धि गर्नका लागि विभागका महानिर्देशक प्रकाश पौडेललाई दबाब दिने गरेका थिए। पौडेल यसअघि अख्तियारबाटै विभागमा सरुवा भएका थिए। अख्तियारमै रहँदाको अनुभवले उनले भटट्का क्रियाकलापप्रति शंका गर्दै आयोगमा खबर गरेका थिए।

आयोगले बुधबार उनलाई पक्राउ गरेर थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी महानगरीय अपराध महाशाखामा बुझाइएको आयोगले जानकारी दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आफूलाई डीएसपी बताउने भट्टले बेलाबेलामा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, राष्ट्रिय कृषि विकास कम्पनीका सीईओसमेत बताएर विभागमा दबाब दिने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्