ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु , चार घाइते, बाँकेमा धारिलो हतियार प्रहार गरी वृद्धाको हत्या

काठमाडौं, साउन ३ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा मालबहाक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग१ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा अवस्थित कच्ची काठेपुल भत्किँदा आज बिहान दुर्घटना भएको थियो ।

ट्रकमा सातजना सवार रहेका बताइएको छ । मृत्यु हुनेमा रामेछाप जिल्ला गोकुल गङ्गा गाउँपालिका–१ बस्ने अन्दाजी ३८ वर्षीय चित्रबहादुर श्रेष्ठ र उनकी श्रीमती अन्दाजी २६ वर्षीया मोनिका श्रेष्ठ रहेको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक जीतबहादुर केसीले जानकारी दिए ।

नवलपरासी जिल्ला विनय त्रिवेणी गाउँपालिका–३ बस्ने ट्रक चालक ३६ वर्षीय शिवराम ठाडा मगर सामान्य अवस्थामा रहेको उनले बताए । चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ । घाइते हुनेमा बागलुङ जिल्ला ढोरपाटन नगरपालिका– २ बस्ने २२ वर्षीय सुशील घर्तीमगर, २५ वर्षीय लुद्रबहादुर कामी रहेका छन् । उनीहरु मजदूरीका लागि मुस्ताङ पुगेका थिए ।

त्यसैगरी पर्वत जिल्ला जलजला गाउँपालिका–४ का १८ वर्षीय सहचालक दिनेश दर्जी र ओखलढुङ्गा जिल्ला सिन्चीदोम्बा गाउँपालिका–७ बस्ने अन्दाजी २९ वर्षीय दावा शेर्पा छन् । उहाँहरुको जोमसोम जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ ।

घाइतेको अवस्था सामान्य रहेको ट्राफिक कार्यालयले जनाएको छ । ट्रकमा १०० बोरा सिमेन्ट, चार थान प्लाइउड र ५० वटा फलामको ट्रस पाइप रहेको सहचालक दर्जीले जानकारी दिनुभयो । जीर्ण भएको काठको कच्ची पुलले ट्रकको भार थाम्न नसक्दा उक्त दुर्घटना भएको जनाइएको छ । उता बाँकेको कोहलपुर नगरपालिका– ११ एकतानगरका एक वृद्धाको हत्या भएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले एकतानगरका ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेको जानकारी दिए ।

उनले घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र हत्यापछि मृतकका साथमा रहेको नगद र सुनको गरगहना लगेको बताए । अहिले कोहलपुर क्षेत्रमा प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्