एमालेभित्र को–को देखिए ओलीविरोधी, ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरे

काठमाडौं , साउन ४ । नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मत हाल्न सांसदहरूलाई निर्देशन दिएको थियो । पार्टीको निर्णय नमानेर देउवाका पक्षमा मत हाल्ने सांसदहरू एमालेमा नरहने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए । आइतबार राति संसद्मा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन् ।

त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका छन् भने नेपालनिकट १० सांसद मतदानको समयमा बैठककक्षबाट बाहिरिए । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका आठ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरे ।

ओली सरकारमा वन तथा वातावरणमन्त्री भएका प्रेमबहादुर आलेले देउवालाई विश्वासको मत दिए । त्यस्तै तनहुँ–१ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरे । माधव नेपाल पक्षका सांसदहरूले पनि देउवाको पक्षमा मत दिए । हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेमबहादुर आले, किसान श्रेष्ठले शेरबहादुर देउवालाई मत दिएका हुन् ।

यी सबै यसअघि ओली पक्षमा थिए । उनीहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा हस्ताक्षर गरेका थिएनन् । यीमध्ये केही सांसदहरू गत वैशाख २७ गते मात्रै ओली समूहमा गएका थिए ।

देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने रहेका छन् । त्यस्तै, गोपाल बम, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री र कृष्णलाल महर्जन छन् ।

यसैगरी, विश्वासको मत दिन प्रतिनिधिसभा बैठकको सुरुमा अनुपस्थित भएको पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली मतदान गर्ने समयमा भने उपस्थित भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको ४ घण्टापछि ओली बैठकमा सहभागी भएका हुन् । यसअघि ओली संसद् भवनमा भए पनि बैठकमा सहभागी थिएनन् ।

प्रतिक्रिया दिनुहोस्