हतारमा राजीनामा दिएको बताउँदै फर्ता लिन भिम रावललाई ओलीको आग्रह

काठमाडौं , साउन ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । च्यासलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताउँदै फिर्ता लिन आग्रह गरेका हुन् ।

‘हतारिएर किन राजीनामा दिएको रु सल्लाह गर्नुपर्ने । अझै पनि ​सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, ओलीले भने । पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीले बताए ।

‘भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाए’, ओली भने । ‘उच्च राजनीतिक तहमा देखिएको अहम्, प्रतिशोधले दिक्दार भएको छु । विकृत राजनीतिको मतियार हुनुभन्दा अलग हुनु ठीक लागेर राजीनामा दिएँ,’ हिजो मात्रै राजीनामा दिएका नेता रावलले भनेका थिए ।

यता १० बुँदे सहमति माधव नेपालले स्वीकार नगरेको पनि अध्यक्ष ओलीले सुनाए । ‘हामीले १० बुँदे सहमति स्वीकार गर्यौं । तर माधव नेपालले मानेनन्’, उनले भने । यसैबीच नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

ललितपुरको बालकुमारीस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकले विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्