देउवा सरकार ‘टालाटुली बटुली कति राम्री पुतली’ जस्तै हो : अध्यक्ष ओली

काठमाडौं, साउन ४ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारलाई कवाडीको रिसाइकलबाट बटुलेर बनाइएको टालाटुली बटुली कति राम्री पुतली’ को संज्ञा दिएका छन्।

एमाले केन्द्रीय कमिटीको सोमबार बसेको बैठकमा सम्बोधन गर्दै उनले देउवाले भाँडाकुटी बटुलेजसरी विश्वासको मत लिएको टिप्पणी गरे ।

उनले भने, ‘देउवाले लिएको विश्वासको मत कबाडीको रिसाइकलबाट भाँडाकुटी बटुलेर बनेको टालाटुली बटुली कति राम्री पुतली भनेजस्तै हो।’ उनले कांग्रेसमाथि विगतदेखि नै आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने पार्टी रहेको आरोप लगाए। यस्तै माओवादी केन्द्र अपराध कर्म गरेर आएको भन्दै अहिले शिथिल रहेको उनको भनाइ छ।

पूर्वप्रधानमन्त्री ओलीले अब सत्ताको दुरुपयोग गरेर सबैतिरबाट एमालेमाथि हमला हुने बताए। उनले भने, ‘अब जनविरोधी काम सुरु गर्छन्। हाम्रो पंक्तिमाथि हुने सम्भाव्य षड्यन्त्र र आक्रमण अनुमान गरेका छौं।’ त्यसैले आवश्यकताअनुसार परिआए जुझारु ढंगले सशक्त प्रतिवादका लागि तयार रहन पनि उनले कार्यकर्तालाई निर्देशन दिए।

उनले भने, ‘प्रतिक्रियावादीहरुले गर्ने हमला परास्त गर्न संगठन निर्माण गर्नुपर्छ। एमाले सरकारले गरेको राम्रो कामको प्रचार गर्दै वर्तमान सरकारको भण्डाफोर अभियान चलाउनुपर्छ।’

ओलीले आफूहरूले १० बुँदे स्वीकार गरे पनि माधव नेपाल पक्षले अस्वीकार गरेको भन्दै रोष प्रकट गरे। ओलीले भने, ‘ हिजोसम्म बैठकमा आउन आह्वान गर्ने काम भयो।कोटेश्वर पुगेका कार्यदललाई अल्पमतको बैठकमा जान्न भन्ने जबाफ आयो।’

यस्तै ओलीले भीम रावललाई राजीनामाबारे पुनर्विचार गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्