देउवाले खोपलाई प्राथमिकता दिइरहन आवश्यक छैन : ओली

काठमाडौँ, साउन ४ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड खोपलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कोभिड खोप लगाउने कामलाई प्राथमिकताका साथ अघि बढाउने बताएका थिए।

निवर्तमान प्रधानमन्त्री ओलीले भने सबै नेपालीलाई पुग्ने गरी खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको अघिल्लो सरकारले नै गरेकाले त्यसलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको औंल्याएका हुन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबारबाट सुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकको शुभारम्भमा बोल्दै उनले केही पनि नभएको ठाउँबाट सबै नेपालीलाई लगाउन पुग्ने गरी कोभिड खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको अघिल्लो सरकारले मिलाएको दावी गरे।

अध्यक्ष ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले बाढी, पहिरो र डुबान पीडितलाई पनि आवाससहित राहतको आवश्यक व्यवस्था मिलाएको पनि दावी गरेका छन् । आफू नेतृत्वको सरकारले देश र जनताका लागि गर्व गर्न लायक काम गरेपनि अन्य दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि त्यसको विरोध गर्नु परेको उनको भनाइ रहेको थियो ।

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको आफ्नो पार्टीको सरकारले पनि सफलतापूर्वक काम गरेकै कारण प्रतिक्रियावादीहरुले सरकारबाट हटाएको उल्लेख गर्दै ओलीले आफू नेतृत्वको सरकारले पनि राम्रो काम गर्दागर्दै प्रतिक्रियावादी शक्तिहरुले पार्टी भित्रकै केही महत्वाकांक्षीहरूलाई प्रयोग गरेर पार्टीलाई नै विभाजन गर्ने षडयन्त्र गरिरहेको उनले बताए।

त्यस अवसरमा उनले आफू नेतृत्वको अघिल्लो सरकारले संविधान, कानुन र लोकतान्त्रिक प्रक्रिया अनुसार मुलुकको समृद्धिको अभियानलाई अघि बढाएको, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाएको उल्लेख समेत गरे ।

प्रतिक्रिया दिनुहोस्