सत्ता गठबन्धनका लागि प्रचण्डको दौडधुप, दिनहुँजसो राजनीतिक भेटघाटमा व्यस्त

काठमाडौं , साउन ५ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बर्हिगमन र शेरबहादुर देउवाको सत्तारोहणपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिनहुँजसो राजनीतिक भेटघाटमा व्यवस्त छन्। प्रचण्डले मंगलबार बिहान मात्रै तीनजना शीर्ष नेताहरुसँग दुईवटा महत्वपूर्ण छलफल गरेका छन्।

सत्ता गठबन्धनका लागि ‘प्रचण्ड’ले दौडधुप सुरु गरेका हुन्। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेपछि प्रचण्डले सत्ता गठबन्धनका लागि दौडधुप गरिएको देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँगको भेटसँगै प्रचण्डले सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन छलफल सुरु गरेका हुन्।

देउवासँगको भेटमा प्रचण्डले सरकारको साझा न्यूनतम् कार्यक्रम बनाएर अगाडि बढ्ने विषयमा छलफल गरेका छन्।देउवाको भेटमा गठबन्धनमा सहभागी दलको भावनाअनुसार साझा न्यूनतम कार्यक्रम बनाएर सरकारलाई गतिदिने विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

देउवासँगको भेटअघि प्रचण्डले नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन्। वरिष्ठ नेता नेपाल निवास कोटेश्वरमा दुवै नेतासँग प्रचण्डले छलफल गरेका हुन्।

यता कोटेश्वरमा प्रचण्ड, नेपाल र यादवबीचको भेटमा केपी ओली सरकारले असंवैधानिक ढङ्गबाट गरेका राजनीतिक नियुक्ति खारेज गर्ने विषयमा छलफल भएको सापकोटाको भनाइ छ।

एमाले अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्री केपी ओलीविरुद्ध सहकार्य गरेका दलसँग सहमति गरेर अगाडि बढ्ने तयारीमा प्रचण्ड छन् । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने पार्टी र सांसदलाई मिलाएर अगाडि बढ्ने गरी उनको छलफल केन्द्रित देखिन्छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले देउवा सरकारलाई विश्वासको मत दिएपछि मन्त्रिपरिषद् विस्तारमा सबैलाई समेट्नुपर्ने बाध्यता देउवामाथि देखिन्छ ।

अहिले देउवा सरकारमा दुई कांग्रेस र दुई माओवादी गरेर चारजना मात्र मन्त्री रहेका छन् । बांकी मन्त्रीहरुको टुँगो लगाउन नेताहरुको छलफल तिब्र रुपमा अगाडि बढि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्