वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छाड्न महेश बस्नेतको आग्रह, भन्छन् – सम्मानजनक विदाइ गर्छौं

काठमाडौं , साउन ५ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निकट नेता महेश बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छाड्न आग्रह गरेका छन्।

राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष प्रदेश कमिटीको बिस्तारित भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो आग्रह गरेका हुन् । उनले सम्मानजनक बिदाइ गर्न आफू तयार रहेको समेत बताएका छन् ।

तपाईँ एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले छोडनुस्। हामी पुत्ला जलाउँदैनौं। सम्मानजनक बिदाइ गर्छौ। तर, एमालेमा बसेर बर्वाद गर्नेहरुलाई युवासंघले तह लगाउनै पर्छ, उनले भने।

साथै बस्नेतले एमाले फुटाउन नेता नेपाललाई चुनौती समेत दिएका छन् । नयाँ वानेश्वरमा भएको कार्यक्रममा उनले नेपालले समानान्तर गतिविधि जारी राखे युवासंघले पुत्ला जलाउन नरोक्ने समेत बताए । नेपालले समानान्तर गतिविधि गरेर महाअपराध गरेको उनको भनाइ रहेको छ ।

ओलीको पुत्ला जलाउन नेपालले अभियान चलाएको बस्नेतको आरोप थियो। आफ्नो एकरदुई पुत्ला जल्दैमा कोटेश्वरमा सुरक्षा बढाएको भन्दै उनले नेपालको आलोचना समेत गरे। सरकारले थे्रट बढेको भन्दै नेकपा एमालेका नेता माधवकुमार नेपालको सुरक्षा बढाएको छ ।

प्रहरी अधिकारीहरुका अनुसार ओली समूहका कार्यकर्ताबाट थ्रेट बढेको भन्दै सुरक्षाकर्मी थप गरिएको हो । अहिले नेपाल र ओलीका कार्यकर्ताहरुले छुटाछुटै विरोध गरिरहेका छन् । यस कारण पनि उनीहरुको सुरक्षा बढाएको हो । यता नेपाल समुहले पनि आफ्ना संसादहरुको छुटै भेला बोलाएका छ ।

प्रतिक्रिया दिनुहोस्