प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटवार्तामा ठाकुर पक्षको माग र सरकारमा सहभागिताका विषयमा छलफल केन्द्रित रहेको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न जसपा अध्यक्ष ठाकुर बिहान साढे नौ बजे बालुवाटार पुगेका थिए ।देउवालाई संसदमा ठाकुर पक्षले विश्वासको मत दिएको थियो । त्यसअघि देउवाले ठाकुर पक्षका नेताहरुसँगको छलफलमा उनीहरुका माग सम्बोधन गर्ने आश्वासन दिएका थिए ।

यस बाहेक ठाकुरले यसअघि आफ्नो पार्टीसँग सकारले गरेका सहमति कार्यान्वनयका विषयमा प्रधानमन्त्री देउवासँग कुरा राखेको स्रोतले जानकारी दिएको छ । यसअघि ओली सरकारमा सहभागी भएको जसपाको ठाकुर पक्षले समेत गत आइतबार प्रतिनिधि सभामा देउवालाई विश्वासको मत दिएको थियो ।

यता यो भेटसँगै ओलीको सत्ता ढलेर देउवा प्रधानमन्त्री हुनासाथ कित्ता फेरेको ठाकुर पक्ष अहिलेको सरकारमा पनि सहभागी हुने सम्भावना बढेको छ । उता देउवलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयदेखि सर्वोच्च अदालतसम्म साथ दिएको जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवको समूह त सरकारमा जाने निश्चित छ । साउन १० भित्रै सरकारमा जाने तयारीमा यादव समुह रहेको छ ।

देउवाले अहिलेसम्म कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्री मात्र नियुक्त गरेका छन् । देउवाले यसै साता मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । यसका लागि प्रधानमन्त्री देउवा छलफलमै रहेका छन् ।

उनले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने एमाले माधव नेपालको पक्षलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् । तर नेपाल पक्ष यस विषयमा टुंगोमा पुग्न सकेको छैन । अहिले यो समुह छलफलमै व्यस्त छ । यता माओवादी केन्द्रले भने मन्त्री टुंगो लगाउन आज बैठक डाकेको छ ।

प्रतिक्रिया दिनुहोस्