देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण, पठायो पत्र

काठमाडौं, साउन ६ । नेकपा एमालेले आफ्ना २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत हालेका २२ सांसदलाई स्पष्टीकरण सोधिएको हो।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले माधव नेपालसहितका २२ सांसदलाई बुधबार स्पष्टीकरण सोध्दै पत्र पठाइएको पुष्टि गरेका छन्।

स्पष्टिकरण पत्रमा ५ गतेको मिति राखेर आज मात्रै पठाइएको छ।उनका अनुसार ईमेलमार्फत र हार्ड कपी पनि सम्बन्धित सांसदहरुसम्म पठाइएको छ।

पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै अध्यक्ष केपीशर्मा ओलीले स्पष्टिकरण सोधेका हुन्।

यता एमालेका नेता नेपालले भने यसको जवाफ नदिने बताएका छन् । यी दुबै समुहको अहिले छुटाछुटै बैठक चलीरहेको छ ।

आइतवार राति संघीय संसदमा भएको विश्वासको मतका क्रममा नेपाल समूहमा लागेका १४ जना र ओली समूहका ८ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए। विश्वासको मत दिएका ओली पक्षका ८ सांसद पनि अहिले नेपाल समूहमा मिसिएका छन्।

प्रतिक्रिया दिनुहोस्