माधव नेपाल पक्षले भन्यो–स्पष्टीकरणले एकतामा भाँजो हाल्यो, ओली समूहको गतिविधिप्रति खेद व्यक्त

काठमाडौं, साउन ६ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट भइरहेका गतिविधिप्रति खेद प्रस्ताव पारित गरेको छ । ओली पक्षले अहिले जारी राखेका गतिविधिले र स्पष्टीकरणले एकता प्रक्रियामा भाँजो हाल्ने निष्कर्ष बैठकले निकालेको छ ।

माधव नेपाल पक्षको बैठक जारी रहँदा ओलीले सोधेको स्पष्टीकरणपत्र पुर्‍याइएको थियो । नेपाल पक्षको बैठकले भने पार्टी एकता कायम राख्न सबै जना जिम्मेवार हुनुपर्ने निर्णय गरेको थियो ।

अध्यक्ष ओली पक्षबाट स्पष्टीकरण सोधिएको र ओली निकटबाट नाराबाजी तथा पुतला दहनका गतिविधि भइरहेको अवस्थामा आज ९बुधबार० बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले खेद प्रस्ताव पारित गरेको हो । नेपाल पक्षबाट पारित प्रस्तावमा सबै अराजनीतिक गतिविधि रोकेर पार्टी एकता अघि बढाउन ओलीको ध्यानाकर्षण गराएको छ ।

‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति भइसकेको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी गर्ने, पुतला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैसलाअनुरुप स्वविवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदलाई आतंकित पार्ने र उनीहरुविरुद्ध नाराबाजी गर्ने काम तत्काल रोकिनु पर्छ’, नेपाल समूहले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘यस्तो गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोकेर पार्टी एकताका कामलाई गम्भीरतापूर्वक अघि बढाउन यो बैठक अध्यक्ष कमरेडको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएको भन्दै नेता नेपालसहित २२ जनालाई स्पष्टीकरण सोधेको थियो । माधव पक्षको बैठक बसिरहेका बेला नेताहरुलाई स्पस्टीकरणकोे पत्र पुगेको थियो । यता अदालतको फैसलामा सांसदको विवेक प्रयोग गर्न पाउने भनेकाले स्पष्टीकरणको अर्थ नभएको नेता नेपाल पक्षका एक जना नेताले बताए ।

 

प्रतिक्रिया दिनुहोस्