‘स्यानी माया’लाई चार दिनमै आठ लाख भ्यूज (भिडियोसहित)

काठमाडौं, साउन ७ । मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’को म्युजिक भिडियोले युट्युबमा सार्वजनिक भएको चार दिन नबित्दै आठ लाख बढी ‘भ्यूज’ बटुलेको छ ।

‘वसन्त थापा’ युट्युब च्यानलबाट गत सोमबार साँझ सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म आठ लाखभन्दा बढी पटक हेरिएको छ । गीतलाई ३६ हजारले ‘लाइक’ र चार हजार ५०० बढीले टिप्पणी गरेका छन् । गीतमा वसन्त थापा, उमेश अधिकारी, सुनिता बुढा क्षेत्री, चन्द्रा सुवेदी र जानुका कँडेलको स्वर छ । शब्द र लय गायिका सुवेदीले दिनुभएको छ ।

केटा पक्षको शब्द भने गायक थापाले लेख्नुभएको हो । गीतको भिडियोमा गायक थापासहित दुर्गेश थापा, ओवी रायमाझी, दिपाशा विसी, बीना विश्वकर्मा र युनिशा खत्रीको अभिनय छ । सङ्गीत संयोजन सङ्गीतकार आशिष अविरलले गर्नुभएको छ । ‘अभ्यास डिजिटल’ले गीत बजारमा ल्याएको हो ।

मौलिक गायन, ठेट लय र शब्दका कारण गीतलाई छोटो समयमै स्रोता÷दर्शकले रुचाएका हुन् । गायक थापाले गीतबाट राम्रो प्रतिक्रिया पाएको बताउनुभयो । सर्जक÷गायिका सुवेदीले यसअघि सोही भाकामा टिकटक र युट्युब माध्यममा गीत गाउँदै आउनुभएको थियो ।

गायक थापाकै पहलमा सुवेदीलाई स्टुडियोसम्म ल्याएर गीत रेकर्ड गराइएको हो । तीज पर्वको अवसर पारेर उक्त रत्यौली भाकाको गीतलाई स्रोता÷दर्शकमाझ ल्याइएको गायक थापाले बताउनुभयो । गीतमा आमा, छोरा र बुहारीको संवाद छ । आमाप्रति सन्ततिको श्रद्धा र सन्ततिप्रति आमाको प्रेममय आर्शीवचनलाई गीतमा लयबद्ध गरिएको छ ।

अश्लिलता मिश्रित रत्यौलीको परम्परा तोडेर यस गीतले लोक जीवनको शब्द, लय र सङ्गीतलाई मुखरित गरेको छ । “गीतको सन्देश फरक भए पनि भाका भने रत्यौली नै हो”, गायक थापाले भन्नुभयो । सुर्खेतमा जन्मनुभएकी सुवेदीले सङ्कलन गर्नुभएको यस भाकामा उहाँ आफैँले पहिलोपटक स्टुडियोसम्म पुगेर स्वर दिनुभएको हो ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्