टोकियो ओलम्पिकमा मेक्सिको र न्युजिल्याण्डको विजयी सुरुवात

काठमाडौँ, साउन ७ । टोकियो ओलम्पिकको पुरुष फूटबलमा मेक्सिको र न्युजिल्याण्डले विजयी सुरुवात गरेका छन् ।

स्पेन भने इजिप्टसँग गोल रहित बराबरीमा रोकिएको छ ।

समुह ए को खेलमा मेक्सिकोले फ्रान्सलाई ४–१ गोल अन्तरमा पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा फ्रान्सले लय गुमाउन पुगेको थियो ।

४७ औं मिनेटमा इमेस्तो भेगाले मेक्सिकोका लागि खाता खोलेका थिए । ५५ औं मिनेटमा फ्रान्सिस्को कोर्डोभा, ८० औं मिनेटमा कार्लोस आन्तुना र दोस्रो हाफको अतिरिक्त समयमा एदुआर्दो एग्युरेले मेक्सिकोका लागि गोल गरे । ६९ औं मिनेटमा एण्ड्री पिर्रे गिग्नाकले पेनाल्टी मार्फत फ्रान्सका लागि सान्त्वना गोल फर्काएका थिए ।

समुह बी को खेलमा न्युजिल्याण्डले दक्षिण कोरियामाथि १–० गोलको साँधुरो जित निकाल्यो । न्युजिल्याडलाई पहिलो खेलमा नै ३ अंक दिलाउन ७२ औं मिनेटमा क्रिस उडले एकमात्र गोल गरे । ६३ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि दक्षिण कोरियाले गोल भने फर्काउन सकेन ।

टोकियो ओलम्पिकको पुरुष फूटबल तर्फ उद्घाटन खेलमा स्पेन इजिप्टसँग बराबरीमा रोकिएको छ । समुह सी को पहिलो खेलमा इजिप्टले स्पेनलाई गोलरहित बराबरीमा रोकेको हो ।

 

प्रतिक्रिया दिनुहोस्