भारतमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२४ पुग्यो

काठमाडौं, साउन १० । भारतमा भारी मनसुन वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ ।

भारतीय अधिकारीले उक्त कुराको पुष्टि गरेका छन् । अरु दर्जनौं हराइरहेको र उनीहरुको खोजीका लागि उद्धारकर्मीहरु जुटिरहेको पनि बताइएको छ ।

भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भएको छ । भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । महाराष्ट्र राज्यमा बिहीबार मुम्बईको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा परी ४० जनाको मृत्युसहित राज्यभर ज्यान गुमाउनेको सङ्ख्या ११४ पुगेको छ ।

पहिरोमा दर्जनभन्दा बढी घरहरू परेका थिए भने पहिरोमा परी कम्तीमा ९९ जना हराइरहेको बताइएको छ । चिप्लुनका केही भागहरूमा बिहीबार निरन्तर २४ घण्टाको वर्षापछि पानीको तह २० फिट ९छ मिटर० सम्म पुगेको र सडक तथा घरहरू डुबाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । वर्षापछिको डुबानका कारण बिद्युत् आपूर्ति अवरूद्ध हुँदा कोभिड–१९ को उपचार गराइरहेका एक अस्पतालका आठ बिरामीहरूको मृत्यु भएको थियो ।

उनीहरूको उपचारमा भेन्टिलेटर प्रयोग भएको तर बिद्युत् आपूर्ति काटिनासाथ उनीहरूको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्