साँढे ४ लाख थपिए काँग्रेसका क्रियाशील सदस्य

काठमाडौं, साउन १२ । नेपाली काँग्रेसका क्रियाशील सदस्यको संख्या साढे ८ लाख पुगेको छ।

काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील छानबिन समितिले मंगलबार समितिको प्रतिवेदन सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

प्रतिवेदनमा काँग्रेस क्रियाशील सदस्यता पाउनेको संख्या ८ लाख ५२ हजार ७११ रहेको उल्लेख गरिएको छ। थप ४ लाख ४३ हजार ६७८ जनाले काँग्रेसको क्रियाशील सदस्यता पाएका छन्। यस्तै ४ लाख ९ हजार जनाको सदस्यता नवीकरण भएको छ।

छानबिन समितिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणबारे परेका उजुरीमाथि पूर्णरुपमा टुंगो भने नलागएकाले अझै सदस्यता थपिने छन्। समितिले धनुषा ४, सर्लाही २, बारा र सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगाउन नसकेरै छानबिन समितिले सभापतिलाई प्रतिवेदन बुझाएको छ।

छानबिन समितिले प्रतिवेदन बुझाएपछि सो विषयमा छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बसिरहेको छ।

यसैबीच क्रियाशील सदस्यता छानबनि समितिका सदस्य कल्याण्ड गुरुङले भने मुल प्रतिवेदनमा फरकमत राखेका छन्। क्रियाशील सदस्यताको विषय टुंगो नलाग्दा मंगलबार शुरु हुने स्थानीय तह स्तरको अधिवेशन स्थगित गरिएको छ। नयाँ कार्यतालिका तय भएको छैन।

देउवा निवास बुढानिलकण्ठमा जारी पदाधिकारी बैठकले अधिवेशनको नयाँ मिति तय गर्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्