“ख्यास पुतली”ले दुर्गेशलाई पर्यो सकस , बहिष्कार गर्ने तयारीमा दोहोरी प्रतिष्ठान

काठमाडौं, साउन १५ । मोडल दुर्गेश थापाको गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’लाई लिएर साङ्गीतिक क्षेत्रमा आलोचना भइरहेको छ ।

सो गीतले तीजको मर्ममाथि प्रहार गरेको गुनासो धेरैको छ । स्रोता –दर्शकहरूले पनि यस्ता गीतले तीजको संस्कृतिमाथि प्रहार गरेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा दुर्गेशको यो गीतमाथि प्रतिबन्ध लगाउनुपर्ने माग समेत गरिएको छ ।

कतिपयले भने यस्ता गीत सार्वजनिक हुँदा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले के हेरेर बसेको छ रु भनेर समेत प्रश्न गरेका छन् । प्रतिष्ठानले भने आफूहरूले त्यस्ता गीत नल्याउन आग्रह गर्ने, आग्रहलाई बेवास्ता गरे संस्थागत रूपमा बहिस्कार गर्ने बताउँदै आएको छ ।

गायक दुर्गेशले सो गीत ल्याउने तयारी गरेको जानकारी पाएपछि प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो । प्रतिष्ठानले साउन ७ गते दुर्गेशलाई ध्यानाकर्षण पत्र नै काटेको थियो । प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र प्रतिष्ठानको विकृति विसङ्गति न्यूनीकरण विभाग समितिका संयोजक शिव हमालको संयुक्त हस्ताक्षरमा ध्यानाकर्षण पत्र काटिएको थियो । तर, दुर्गेशले प्रतिष्ठानको पत्रलाई बेवास्ता गर्दै गीत सार्वजनिक गरेका छन् ।

‘बीच्च बीच्चमा’को चौथो सिरिजको रुपमा दुर्गेशले केही दिन अगाडि बजारमा ल्याएको यो गीतप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले समेत आपत्ति जनाएको छ ।केही महिना अगाडि तीज गीतमा भद्दा शब्द प्रयोग नगर्न अनुरोधसमेत गरेको आफ्नो अनुरोधको बेवास्ता गर्दै दुर्गेशले गीत ल्याएको भन्दै आपत्ति जनाएको हो । प्रतिष्ठानले गरेको पटक पटकको अनुरोध दुर्गेशले बेवास्ता गरेको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए ।अध्यक्ष बिजीले दुर्गेशको क्रियाकलापको बिषयमा महिला दिदीबहिनी पनि उत्रिनुपर्ने बताए ।

यता संस्थाको आग्रहलाई वास्ता नगरेपछि प्रतिष्ठानले थापालाई बहिष्कार गर्ने तयारी गरेको छ । आइतबारको बैठकमा प्रतिष्ठानले गर्न मिल्ने कारबाही गर्ने नमिलेको बिषयमा राज्य र सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय समेत गरिने बिजीले जानकारी गराए ।

जुलाई २३ मा रिलिज भएको गीतमा संगीत, शब्द र स्वर दुर्गेशकै रहेको छ । प्रतिष्ठान स्रोतका अनुसार सोही गीतको विषयलाई लिएर आइतबार प्रतिष्ठान केन्द्रीय कमिटीको बैठक समेत डाँकिएको छ । विगतमा पनि दुर्गेशको गीत विवादमा तानिने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्