आज साँझसम्म सहमतिमा अउन नेपाल पक्षलाई आग्रह , पोखरेल भन्छन- अन्यथा भोलिको बैठकले निर्णय लिन्छ

काठमाडौं, साउन १५ । नेकपा एमालेले पार्टी एकताका लागि आज साँझसम्म सहमतिमा आउन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई आग्रह गरेको छ । अन्यथा लामो समय कुर्न नसकिने एमालेले स्पष्ट पारेको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले आज साँझसम्म सहमतिमा नआएर शनिबार बस्ने पार्टीको स्थायी कमिटी बैठकले आवश्यक निर्णय लिने जानकारी दिए । पार्टी कार्यालय थापाथलीमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीलाई अनिश्चयको भूमिरीमा राखेर लामो समयसम्म कसैलाई कुर्न नसकिने उनले बताए ।

‘अधिकतम कोशिस गर्ने नाममा यो अनिश्चिततालाई अनन्तकालसम्म लम्ब्याउनु हुँदैन । देशभरका नेता कार्यकर्ताहरुले व्यक्त गर्नु भएको धारणामा हामी टुङ्गोमा पुग्छौं’, पोखरेलले भने, ‘विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव दुबैतर्फका साथीहरुले नेतृत्वसँगको परामर्शमा तयार पारेर अनुमोदन गरेपछि अरु प्रस्ताव दिनहुँ सार्वजनिक हुँदा यसले पार्टी एकता हुने वातावरण बनाउँदैन ।’

पार्टी एकताका लागि कार्यदलले तयार पारेको प्रस्तावमा टेकेर अगाडि बढ्नु पर्नेमा उनले जोड दिए । पार्टी एकताका लागि विधान र पद्धतीभित्र बसेर सहमतिको अधिकतम प्रयास गरिने उनले बताए ।

पछिल्लो एमालेको विवाद मिलाउनै सकस परेको छ । दुबैपक्षले आ आफ्नै अडानमा रहदा सहमति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्