सत्ता समीकरण मिलाउन आन्तरिक दौडधुपमा प्रचण्ड , नेपाल समुहभित्र अझै मतभेद

काठमाडौँ, साउन १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता समीकरण मिलाउन आन्तरिक दौडधुपमा लागेका छन् ।

सरकार गठन भएको लामो समयसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा प्रचण्डले राजनीतिक भेटवार्तालाई बढाएका छन् ।

उनले सत्तारुढ गठबन्धनका नेताहरूसँग निरन्तर वार्ता गरिरहेका छन् । यही क्रममा प्रचण्डले आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् ।

नेता नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन् । भेटमा सरकारमा सहभागीताबारे छलफल भएको बताएको छ ।

एमाले एकता वा विभाजनको निर्णायक चरणबाट गुज्रिरहेका बेला प्रचण्ड र नेपालबीचको आजको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ । दुई नेताबीच आज सत्ता सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसैबीच एमालेको नेपाल समूहभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेद छ । नेपाल समूह भित्रैका केहीले पार्टी एकतामा जोड दिँदै सरकारमा जान नहुने बताइरहेका छन् भने कतिपयले आफैले निर्माण गरेको सरकारमा सहभागी भएर हिस्सा लिनुपर्ने बताइरहेका छन् ।

सरकारमा सहभागिताबारे माधव समूहले निर्णय लिन नसक्दा मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन । पार्टी एकताका लागि प्रयास गर्ने भन्दै शनिबार एजेण्डामा प्रवेश नगरी एमाले स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

हिजो स्थगित भएको बैठक आज अपरान्ह ३ बजे बस्ने भनिएको छ । यता प्रधान्मन्त्री देउवालाई पनि आफ्नै पार्टीबाट मन्त्री छान्न सकस परेको छ ।

प्रतिक्रिया दिनुहोस्