एमाले बैठकः पार्टीलाई एकतावद्ध बनाउने निर्णय, अर्को बैठक२४ गते

काठमाडौं , साउन १७ । नेकपा एमालेको स्थायी समिति बैठकले नेकपा एमालेलाई एकतावद्ध बनाएर लैजाने निर्णय गर।ेको छ ।

आइतबार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो ।

यसका लागि सवै प्रयासहरु गर्ने महासचिव ईश्वर पोखरेलले जानकारी दिए । उनले जेठ २ लाई टाइमलाइन अनुसार नै एमालेलाई एकतावद्ध बनाएर लैजान सकिने र त्यसमा असन्तुष्ट पक्षहरू पनि आउने विश्वास व्यक्त गरे ।

‘हामी एमालेलाई एकतावद्ध बनाउन चाहान्छौँ । उन्नत तहको एकताका लागि जे गर्न सकिन्छ त्यो गर्ने हो’, महासचिव पोखरेलको भनाई छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको एकता प्रयासबारे जानकारी गराएका थिए ।

यस्तै विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमालेले साउन २४ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आइतवार बसेको स्थायी कमिटी बैठकले साउन २४ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

विधान अधिवेशनको विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाइएको पोखरेलले बताए । एमालेले साउन २३ गतेभित्र पार्टी सदस्यता नवीकरण र अद्यावधिक गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

भदौ २७ र २८ गतेका लागि तय गरिएको विधान अधिवेशन सम्पन्न गर्नका लागि सदस्यता नवीकरणलाई तोकिएको समयमै सम्पन्न गर्न सुझाव दिएको उनले बताए ।

एमालेले देशव्यापी रुपमा असोज ३ गते वडा तहको अधिवेशन गर्न र ९ गते स्थानीय तहको अधिवेशन गर्न निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्