असोजभित्रै २ करोड खोप ल्याइने, कहाँबाट कति खोप आउँदैछ ?

काठमाडौं , साउन १८ । सरकारले असोजसम्म नेपालमा कोभिड १९ विरुद्धको झन्डै दुई करोड डोज खोप ल्याउने दाबी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा असोज मसान्तसम्म १ करोड ८३ लाख ८२ हजार ८५० र चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाई पुग्नेगरी खोप ल्याउने जनाएको छ ।

कहाँबाट कति खोप आउँदैछ ?

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले गृहमन्त्रीसहित विभिन्न उच्च पदस्थ अधिकारीहरुको बैठकमा आइतबार एकसाताभित्र १६ लाख चिनियाँ र १६ लाख जापानी गरी ३२ लाख डोज खोप आउँदै गरेको जानकारी दिए ।

यसअघि साउन १५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै चैत मसान्तभित्र सम्पूर्ण नेपालीलाई पुग्नेगरी खोप ल्याइने जनाएको थियो ।

मन्त्रालयका प्रवक्ता डा। कृष्ण प्रसाद पौडेलका अनुसार चीनको सिनोफार्म कम्पनीबाट थप ६० लाख डोज खरिद सम्झौता अगाडि बढेको छ ।

जापानले घोषणा गरेको १६ लाख र भारतसँग खरिद गरिएको १० लाख डोज अष्ट्राजेनिकाको खोप आउँदैछ । योसहित नेपालमा असोज मसान्तसम्म कोभिड १९ विरुद्धको कुल १ करोड ८३ लाख ८२ हजार ८५० डोज खोप आउनेछ ।

त्यसैगरी कोभ्याक्स कार्यक्रमको लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख डोज खोप ल्याइनेछ भने १२ वर्षमाथिका बालबालिकाको लागि ६० लाख डोज फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ ।

कोभ्याक्स सुविधाबाट प्राप्त हुन बाँकी १ करोड १३ लाख डोज खोप क्रमशः प्राप्त हुँदै जाँदा चैत्र मसान्तसम्म सबै नेपालीलाई खोप उपलब्ध हुने आकलन मन्त्रालयको छ ।

यसअघि कहाँबाट कति खोप ल्याइयो ?

नेपाललाई पहिलो पटक भारत सरकारले १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो ।

त्यस्तै नेपाली सेनालाई दिएको १ लाख डोज कोभिसिल्ड खोप उपहारमा प्राप्त भएको थियो भने कोभ्याक्स कार्यक्रममार्फत् ३ लाख ४८ हजार डोज कोभिसिल्ड खोप आएको थियो ।

यसबाहेक सरकारले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज कोभिसिल्ड खोप नेपाल ल्याइएको थियो ।

यसरी भारतबाट हालसम्म जम्मा २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुगेको छ । त्यस्तै चीनबाट दुई पटक गरी अनुदानमा १८ लाख डोज भेरोसेल खोप प्राप्त भएको थियो ।

चीनको सिनोफार्म कम्पनीबाट पछिल्लो समय ४० लाख डोज भेरोसेल खोप सरकारले खरिद गरी ल्याइसकेको छ ।

यसरी चीनबाट जम्मा ५८ लाख डोज भेरोसेल खोप आएको छ ।

त्यस्तै अमेरिकाले अनुदानमा दिएको जे एण्ड जे खोप १५ लाख ३४ हजार ८५० डोज गरी नेपालमा हालसम्म जम्मा ९७ लाख ८२ हजार ८५० डोज खोप आयो ।

कतिले लगाए अहिलेसम्म खोप?

नेपालमा साउन १७ गतेसम्म १८ लाख १३ हजार ४ सय ७१ जनाले कोभिड १९ विरुद्धको दुवै डोज खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ ।

त्यस्तै ४० लाख ६४ हजार २ सय ८८ जनाले पहिलो डोज खोप लगाएका छन् ।

उमेर समूह तथा जोखिममा रहेका वर्गहरुको प्राथमिकताका आधारमा अब आउने खोप वितरण गरिने स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्