सुनसरीमा एसिड प्रहार गरेर भागेका युवक काठमाडौंबाट पक्राउ

काठमाडौं, साउन १८ । सुनसरीमा एसिड प्रहार गरेर भागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ घर भएका ३० वर्षीय रोमनराम धामीलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेर सुनसरी लगिएको सुनसरीका एसपी सञ्जयसिंह थापाले रातोपाटीलाई बताए ।

साउन २२ मा राती धामीले २८ वर्षीया पत्नी सरस्वती बस्नेतलाई प्रहार गर्न खोजेको एसिड लागेर छिमेकी ४३ वर्षीया श्यामकुमारी धामी घाइते भएकी थिइन् । चुरोटको विषमा विवाद हुँदा छिमेकीको शरणमा पुगेकी श्रीमतीलाई रोमनरामले लखेटेर एसिड हान्ने प्रयास गरेका हुन् । छुट्याउन खोज्दा २१ वर्षका सुमनराज धामी र १९ वर्षीय सुजनराज धामी समेत एसिडको छिटा लागेर घाइते भएका थिए ।

एसिड परेर गम्भिर घाइते भएकी श्यामकुमारीको विराटनगर स्थित म्याक्स अस्पतालमा उपचार भइरहेको छ । आरोपमाथि एसिड आक्रमण विरुद्धको कसुर, कुटपिट र अंगभंग सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्