माधव नेपालले बोलाए केन्द्रीय सदस्यहरूको बैठक , पार्टी एकता र सरकारबारे धारणा तय गर्ने

काठमाडौँ , साउन १९ । एमाले नेता माधवकुमार नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

सरकारमा संलग्न हुनका लागि गठबन्धन दलहरूको दबाब झेलिरहेका नेपालले बुधबार बिहान ११ बैठक बोलाएका हुन् । बैठक बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा बस्ने छ ।

नेता नेपालले नेकपा पार्टी एकता र सरकार लगायतका विषयमा छलफल गर्न आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् ।

सरकारमा संलग्न भए पार्टी एकताको संभावना समाप्त हुने भन्दै नेपाल समूहभित्रै पनि ठूलो समूहले उनीमाथि दबाब दिइरहेको छ । त्यसैले केन्द्रीय तहका नेताहरूको पनि धारणा बुझ्न नेपालले बैठक बोलाएको बताएको छ ।

नेपालले सोमबार आफूनिकट स्थायी कमिटीका नेताहरूसँग छलफल गरेका थिए । छलफलमा नेता नेपालले पनि सबैको भावनासँग आफ्नो पनि एकरुपता रहेको र सम्मानजनक र सुव्यस्थित ढंगले एकता होस् भन्ने चाहना राखेको बताएका थिए ।

पार्टी एकताका लागि गठित कार्यदलमा रहेका नेपाल समूहका नेताले सकेसम्म एकता नै गर्नुपर्ने भन्दै नेपाललाई दबाब दिइरहेका छन् । त्यस्तै केन्द्रीय कमिटीमा रहेका अधिकांश युवा नेताहरूले पनि सकेसम्म एकता भत्किने कुनै गतिविधि गर्न नहुने धारणा राख्दै आएका छन् ।

नेता नेपाललाई गठबन्धनमा संलग्न दल कंग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरूले निरन्तर भेट्दै छिटो निर्णय गर्न आग्रह गरिरहेका छन् । नेपाल समूहलाई संलग्न गराउने उद्देश्यअनुसारै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा विलम्ब गरिरहेका छन् ।

नेता नेपाललाई मिलाउने प्रयोजनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खटिइरहेका छन् । दाहालले मंगलबार पनि नेता नेपाललाई कोटेश्वरस्थित उनकै निवासमा पुगेर भेटेका थिए । त्यहाँ उनले सरकारमै सहभागी भएर जानुपर्ने धारणा राखेका थिए ।

यता नेता नेपाललाई मिलाउने प्रयोजनका लागि कार्यदलस्तरमा ओलीपछिको अध्यक्ष दिने कुरा भइरहेको छ । तर, अध्यक्षको अधिकार के हुने भन्नेमा कुरा मिल्न सकेको छैन । ओलीले पनि दोस्रो अध्यक्ष दिन तयार रहेको यसअघि नै बताइसकेका छन् । तर दोस्रो अध्यक्ष दिँदा पार्टीभित्रको पत्राचार र निर्णय लगायतमा उनको हैसियत के हुने भन्नेमा नेताहरू निष्कर्षमा पुग्न सकेका छैनन् ।

कार्यदल तहमा यस्ता विकल्पमा छलफल भए पनि नेता नेपाल ओलीसँग मिलेर जान सकिन्छ भन्नेमा अझै विश्वस्त भइसकेका छैनन् । विभिन्न विकल्पमाथि छलफल भइरहँदा ओली र नेपालबीच सहमति खोज्ने प्रयोजनका लागि वार्ता गराउने कोसिस पनि कार्यदलका नेतहरुले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्