मुख्यमन्त्री शंकर पोखरेलको सत्ता संकटमा, जोगिएला पद? यस्तो छ अंक गणित

काठमाडौं, साउन २० । लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सत्ता संकटमा परेको छ। विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री पोखरेलको पद धरापमा परेको हो।

जसपाले महन्थ ठाकुर पक्षका तीन मन्त्रीमाथि कारवाही भएपछि पोखरेल सरकार झनै संकटमा परेको छ। मंगलबार विपक्षी गठबन्धनले उनी विरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव पेश गरेसँगै पोखरेललाई मुख्यमन्त्रीको पद जोगाउनु पर्ने चुनौती आइलागेको छ।

यसअघि बैसाख ६ गते माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएपछि माओवादीसहित नेपाली कांग्रेस, उपेन्द्र यादव समूहको जसपाले पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए।

वैशाख २६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्तावमा हस्ताक्षर गरी विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष प्रदेशसभाको विशेष अधिवेशन माग गरे पनि तत्कालीन प्रदेश प्रमुखले विशेष संसद अधिवेशन आह्वान गर्न अस्वीकार गरेका थिए।

यसरी किचलो बनेको लुम्बिनी सरकार विरुद्ध मंगलबार अविश्वासको प्रस्ताव पेश भएसँगै त्यहाको अंकगणित रोचक मोडमा पुगेको छ।

यस्तो छ अंकगणित

८० सांसद कायम रहेको लुम्बिनी प्रदेशसभामा सामान्य बहुमतको लागि कम्तीमा पनि ४१ सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेशसभामा मुख्यमन्त्री पोखरेलपक्ष एमालेको ३८ सांसद रहेका छन्।

विपक्षी गठबन्धनमा कांग्रेसको १९, नेकपा मओवादी केन्द्रको १९ ९विमलाकुमारी खत्री ओलीसहित० सांसद रहेको छ। त्यसैगरी जसपाको ३ र राष्ट्रिय जनमोर्चाको १ सांसद रहेको छ।

एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी सांसद ओली बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी छन्। केही दिन अघि रहस्यमय ढंगले सम्पर्कविहीन भएकी ओली सोमबार विज्ञप्ति जारी गर्दै आफू एमालेमा रहने बताएकी थिइन्।

श्रीमान उत्तरकुमार ओलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ ३ ९ख० मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन्। फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन्।

उनका श्रीमान उत्तरकुमार भने एमालेबाट निर्वाचित भएका थिए। तर उनी प्रदेश सभामा विपक्षी बेन्चमै बस्दै आएकी थिइन्। प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि उनी गत शनिबारदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन भएकी थिइन्।

बुधवार ओली माओवादी केन्द्रमा नै फर्केपछि विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत पुगेको छ । यसरी अबको अंगगणित हेर्दा लुम्बिनी प्रदेश सभामा हाल कायम रहेको ८० सदस्यमा मुख्यमन्त्री पोखरेलको पक्षमा ३८ मत छ भने विपक्षमा गठबन्धनमा सभामुखसहित ४२ मत छ। यो अंकगणित भनेको गठबन्धनको प्रष्ट बहुमत हो।

 

प्रतिक्रिया दिनुहोस्