राष्ट्रियसभा बैठक : शून्य समयमा सरकारको ध्यानाकर्षण

राकाठमाडौँ , साउन २० । राष्ट्रियसभाका सदस्यहरुले शून्य समयमा कोभिड–१९ विरुद्धको खोप, मेलम्चीका बाढीपीडितलाई क्षतिपूर्ति, दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएकाका परिवारलाई न्याय तथा सुकुम्बासीका समस्या चाँडो समाधान गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरुले कोरोना महामारी बढ्दै गएकाले सबैलाई खोपको व्यवस्था गर्नुपर्ने, भूमिहीनलाई जग्गाको व्यवस्था गर्नुपर्ने, यात्रा गर्दा ट्याक्सी चालकले ठग्ने गरेकाले त्यसप्रति ध्यान दिन सरकारसँग माग गरे।

सांसद खिलकुमार विकले खोप आपूर्ति गरी सबैलाई व्यवस्थित रूपमा लगाउन सरकारसँग माग गरे । वृद्धवृद्धाले लामो समयसम्म लाइनमा बस्नुपरेको भन्दै उनले त्यसलाई सहज बनाउन सुझाव दिए ।

सांसद उदय शर्मा पौडेलले काठमाडौँ उपत्यकामा ट्याक्सी चालकले ठग्ने गरेकाले उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । ट्याक्सीमा यात्रा गर्दा मिटरमा भाडा दर निर्धारण गर्न उनले माग गरे ।

सांसद कविता बोगटीले दार्चुलामा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले तुइन काटेका कारण जयसिंह धामी बेपत्ता भएको घटनामा सरकारले भारतीय पक्षको पक्षपोषण गरेको आरोप लगाए । बेपत्ता धामीको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन उनले सरकारसँग माग गरे।

सांसद कोमल वलीले राष्ट्र निर्माणमा कलाकारको उल्लेख्य भूमिका रहेको भन्दै कलाकारलाई पिर, मर्का परेका बेला राज्यले ध्यान दिनुपर्ने बताए। कलाकार पल्पसा डङ्गोलको स्वास्थ्योपचारका लागि पहल गरिदिन उनले सरकारसँग माग गरिन्।

सांसद खिमलाल देवकोटाले सिन्धुपाल्चोकको मेलम्चीलगायत स्थानमा बाढीले अत्यधिक क्षति गरेकाले उनीहरुलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरे ।

सांसद चक्रप्रसाद स्नेहीले देशभर लाखौँ सुकुम्बासी रहेको भन्दै उनीहरुलाई जग्गाको व्यवस्था गर्न सरकारलाई सुझाव दिए । सांसद जगप्रसाद शर्माले शैक्षिक मजदुर समस्यामा परेकाले उनीहरुको समस्या समाधान गर्न सरकारले पहल गरोस् भने। रासस

प्रतिक्रिया दिनुहोस्