चौथो दिन पनि बढ्यो शेयर बजार , साढे १५ अर्ब रुपैयाँको कारोबार

काठमाण्डौ , साउन २०। हप्ताको चौथो दिन पनि शेयर बजार बढेको छ । शेयर बजार मापक नेप्से सूचकले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ। गत मंगलबार नयाँ रेकर्ड बनाएको नेप्से सूचकले बुधबार उक्त रेकर्डलाई तोड्दै नयाँ उचाई कायम गरेको छ। आज नेप्से १२ दशमलव शून्य पाँच अङ्कले बढेर तीन हजार एक सय २३ दशमलव १५ विन्दुमा पुगेको छ ।

जलविद्युत् समूहको शेयर आज पनि उत्साहजनक रूपमा बढेको छ । आज जलविद्युत् समूहको शेयर एक सय ९४ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर ६५ अङ्कले, उत्पादनको २५, फाइनान्स समूहको ४४ र बैंकिङ समूहको साढे चार अङ्कले बढेको छ ।

आज माइक्रोफाइनान्स समुहको शेयर एक सय २५ र निर्जीवन बीमा समूहको शेयर ८३ अङ्कले घटेको छ । यस्तै होटलको आठ र जीवन बीमा समूहको शेयर तीन अङ्कले घटेको छ ।

आज दुई सय २५ कम्पनीका दुई करोड ८८ लाख १३ हजार कित्ता शेयर १५ अर्ब ५९ करोड ५७ लाख रुपैयाँमा किनबेच भएका छन् । आज अपी पावरको झन्डै ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज अपी पावर, दिव्यश्वरी हाइड्रो, खानीखोला हाइड्रो, कालिका पावर, माथिल्लो तामाकोशी, युनियन लाइफ र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढेपनि ङादी ग्रुप पावर कम्पनीको शेयर सबैभन्दा धेरै झण्डै साढे पाँच प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्