विवाह भोजमा चट्याङ पर्दा १६ जनाको मृत्यु

काठमाडौं, साउन २१ । बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ ।

उत्तरी बङ्गलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका जन्ती बेहुलीको घरतिर जाने क्रममा आँधीवेहरीसहितको वर्षा भएको र उनीहरूमाथि चट्याङ खसेको स्थानीय बासिन्दाले बताएका छन् ।

एक स्थानीय अधिकारीले बेहुला र बेहुली सुन्दरपुरका बासिन्दा भएको जानकारी दिएका छन् । दुलही विवाह समारोहमा उपस्थिति भइनसकेकीले कुनै असर नपरेको स्थानीय अधिकारी शकिब–अल–राबीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

हाल केही दिनयता भीषण मनसूनी आँधीवेहरीसहितको वर्षाले बंगलादेशलाई प्रभावित पारेको छ । कोक्सबजारको दक्षिणपूर्वी जिल्लामा एक हप्तादेखि परेको अविरल वर्षाका कारण रोहिङ्ग्या शरणार्थीसहित २० जनाको मृत्यु भएको छ ।

दक्षिण एशियामा प्रत्येक वर्ष चट्याङका कारण सयौँ मानिसको मृत्यु हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्