महाधिवेशनको विषयलाई लिएर पौडेलको चिन्ता: भन्छन्- समयमै महाधिवेशन नहुँदा वैधानिकता सकिने भयो

काठमाडौं, साउन २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन।

बिहीबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा आफूपक्षीय नेताहरूसँगको भेटमा महाधिवेशनमा भइरहेको ढिलाइलाई लिएर चिन्ता व्यक्त गरेका हुन्। भेटका क्रममा नेता सिंहलगायतले समेत महाधिवेशनमा भएको ढिलाइबारे चिन्ता देखाएको उनको भनाइ छ।

‘महाधिवेशनबारे अलिअलि चिन्ता व्यक्त गरियो,’ वरिष्ठ नेता पौडेलले भने, ‘क्रियाशील सदस्यता छिट्टै टुंग्याउनुपर्‍यो । महाधिवेशनको कार्यतालिका अगाडि बढाउनुपर्‍यो भन्ने विषयमा छलफल भयो।’

पौडेलले २३ भदौभित्र महाधिवेशन सम्पन्न नभए कांग्रेसको वैधानिकता गुम्ने पनि बताए।यस्तै नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनको कुनै विकल्प नभएको निष्कर्ष निकालेको छ ।

संवैधानिक, कानुनी, राजनीतिक र नैतिक रूपमा महाधिवेशन पछि सार्ने ठाउँ सकिएको भन्दै पौडेल पक्षले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकले सभापतिको ध्यानाकर्षण गराउँदै समयमा महाधिवेशन हुन नसके पार्टीमा अरु विकल्पको खोजी हुने निष्कर्ष निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस्