संघको समन्वयमा कलाकारलाई खोप

काठमाडौँ, २४ साउन (रासस)। सधैजसो अभिनय तथा नक्कल गर्नमा व्यस्त रहने कलाकार तथा चलचित्रकर्मीले आज भेरोसिल खोप पहिलो डोज लागाउन पाउँदा खुशी भएका छन् । नेपाल चलचित्र कलाकार सङ्घले स्वास्थ्य मन्त्रालयलगायत संस्थासँग समन्वय गरी करीब एक हजार ६०० चलचित्रकर्मीलाई खोपको व्यवस्था गरिएको हो ।
ललितपुरको एक पार्टी प्यालेसमा व्यवस्था गरिएको उक्त खोप लगाउने कार्यक्रममा उनीहरु सवेदनशील देखिन्थे । कोभिड–१९ का कारण यस क्षेत्रका आफ्ना साथीभाई, शुभेच्छुक तथा आफन्तलाई गुमाउन परेको पीडा बोध उनीहरुमा पाइन्थ्यो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौलाले कोभिड बिरुद्ध लढ्नका लागि खोपको महत्व रहेको उल्लेख गर्दै यस कार्यक्रमले सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलालले उक्त जिल्लामा दुई लाख ९२ हजार नागरिकलाई पहिलो तथा दुई लाख १० हजारलाई दोस्रो खोप लगाइएको अभिलेख प्रस्तुत गर्नुभयो । ललितपुर महानगरपालिकाका उपप्रमुख गिता सत्याल, चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाल, स्वास्थ्यकर्मी झलक गौतम, अनिल थापालगायतको सहभागिता रहेको कार्यक्रममा चलचित्रकर्मी भुवन केसी, जिया केसी, पल शाह, पुष्प खड्का, श्याम राईलगायतले खोपसम्बन्धी प्रचार प्रसार गर्नुभएको थियो ।
सङ्घका अध्यक्ष रविन्द्र खड्काले महामारीको समयमा सबै नागरिकलाई सरकारले खोपको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । वरिष्ठ कलाकार मोहन निरौलाले उक्त सङ्घले विभिन्न समयमा गरेको सामाजिक कार्यको सराहना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्