अर्कोपल्ट व्यापक जनमत ल्याएर फेरि प्रधानमन्त्री हुन्छु: केपी ओली

काठमाडौं , साउन २६ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पुनः प्रधानमन्त्री बन्ने दावी गरेका छन् । । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पूर्वप्रधानमन्त्री ओलीले आफूले फेरि व्यापक जनमत ल्याएर प्रधानमन्त्री बन्ने दावी गरेका हुन् ।

‘म जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन, परमादेशबाट प्रधानमन्त्री भएको होइन, दाइजो वा यजमानी र कसैले कृपा गरेर दिएको प्रधानमन्त्री होइन,’ उनले भने , ‘म जनताबाट चुनिएर प्रधानमन्त्री भएको हुँ, अर्कोपल्ट पनि व्यापक जनमत ल्याएर फेरि प्रधानमन्त्री हुन्छु ।’

यद्यपि उनले आफूलाई प्रधानमन्त्रीबाट हट्नुपरेकोमा चिन्ता नभएको बताए । सबैले भरोसा गर्नुपर्ने अदालतले आफ्नो दायर नभुलोस् भन्दै आफूले चिन्ता गरेको उनको तर्क छ । सबैले आ–आफ्नो ठाउँमा आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए ।

सरकारले अहिलेसम्म आफूलाई पूर्ण रुप दिन नसकेकाले शुभकामना र बधाईमा आगामी १५ महिना बित्ने भविष्यवाणी गरे । १७ वटा मन्त्रालय आफैँले राखेर प्रधानमन्त्रीले मन्त्रालयमा समेत घुम्न नभ्याउने टिप्पणी ओलीले गरे ।

उनले वर्तमान सरकार परिवर्तनको विषय विकृत तरिकाबाट भएको भन्दै आफूमाथि प्रहार भइरहेको भन्दै आफू सुखी नेपाल, समृद्ध नेपालीको उद्देश्य बोकेर हिँडेको मान्छेलाई गाली गलौचले फरक नपार्ने बताए । उनले आफू भ्रष्टाचार नगर्ने र अरूलाई गर्न नदिने भनेकाले आफ्नै पार्टीभित्रका साथीहरूलाई समस्या परेको हुनसक्ने बताए ।

उनले देश र जनताको सेवाका निम्ति जन्मिएको भन्दै आफू प्रधानमन्त्री हुन नजन्मिएको तर काम गर्दै जाँदा प्रधानमन्त्री भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्