प्राधिकरणबाट बाहिरिएका हितेन्द्रले लिए जल तथा ऊर्जा आयोगमा नियुक्ति

काठमाडौं, साउन २७ । नेपाल विद्युत् प्राधिकरणबाट बाहिरिएका हितेन्द्र देव शाक्यले जल तथा ऊर्जा आयोगमा नियुक्ति लिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक रहेका शाक्यलाई जल तथा ऊर्जा आयोगमा कार्यादेशसहित विशिष्ट श्रेणीको पूर्णकालीन सदस्यका रुपमा नियुक्त गरेको हो । ऊर्जामन्त्री पम्फा भुसालले शाक्यलाई विशिष्ट श्रेणीको पूर्णकालीन सदस्यका रुपमा आयोगमा नियुक्त गर्ने प्रस्ताव गरेकी थिइन् ।

उनको प्रस्तावअनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो । मन्त्रिपरिषद्ले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकअनुसारकै सेवा सुविधा दिने समेतको निर्णय गरेको छ । जसमा अर्थ मन्त्रालयको सहमति समेत लिइसकेको छ । यता सरकारले अन्ततः कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

मुलुकबाट लोडसेडिङ सदाका लागि अन्त्य गरेका घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्