११ महिनापछि विद्युत् प्राधिकरणमा फर्किए कुलमान , लिए ४ वर्षको नियुक्ति

काठमाडौं, साउन २७ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् ।गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी ९सचिव० सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ ।

उनले दिउँसो २ बजे प्राधिकरणमा पद बहाली गर्ने कार्यक्रम रहेको छ । घिसिङ कार्यकारी निर्देशकको चारवर्षे कार्यकाल पूरा गरी भदौ ३१ मा प्राधिकरणबाट बिदा भएका थिए ।

२०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्