पदबहालीपछि घिसिङले भने – दोस्रो कार्यकालमा जीवनकै ठूलो चुनौती थपियो

काठमाडौं , साउन २७ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालमा ठूलो चुनौती थपिएको बताएका छन्।

पदबहालीपछि बुधबार आयोजित स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा निर्देशक घिसिङले यस्तो बताएका हुन्।

‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु, यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ, उनले भने, यो चुनौतीभन्दा अरु केही हुनेछैन।’

उनले प्राधिकरणलाई अगाडि बढाउनुपर्छ भन्ने जनअपेक्षा आएकाले चुनौती स्वीकार गरेको बताए। उनले भने, यो चुनौती म एक्लैले गर्न सक्दैन। सबै मिलेर काम गर्नुपर्छ। टिमवर्कले काम गर्नुपर्छ।

उनले विधुत प्राधिकरणको सेवालाई अझ राम्रो बनाउने प्रतिवद्धता पनि जनाएका छन् । अनियमिताबारे गुनासाहरु आएको भन्दै सुशासन र गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्ने उनले विश्वास व्यक्त गरे।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई दोस्रो पटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। २०७७ भदौमा ४ वर्षे कार्यकाल पुरा गरी विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनलाई ४ वर्षका लागि नियुक्त गरिएको हो।

चरम लोडसेडिङ भइरहेको बेला तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले घिसिङलाई पहिलो पटक कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्