राष्ट्रिय सभा बैठक: कोरोना महामारी नियन्त्रण गर्न आग्रह

काठमाडौँ , साउन २७ । राष्ट्रियसभाका सदस्यहरुले आइसोलेशन केन्द्र, अक्सिजन प्लान्ट, आईसीयू, भेन्टिलेटर लगायतका संरचना र स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा ९एमाले०का गोपाल भट्टराईले कोरोनाको तेस्रो लहरको जोखिम रहेको र अस्पतालमा सङ्क्रमित बढिरहेको अवस्थामा त्यसबाट लड्न सरकारको आवश्यक तयारी गर्नुपर्ने बताए । बालबालिकालाई पनि खोप लगाएर शैक्षिक संस्था चालु गर्नुपर्नेमा उनको जोड छ ।

एमालेकै कविता बोगटीले नेकपा एमालेका वरिष्ठ नेताबाट पार्टी विपरीत भएका कामले आम कार्यकर्ता र जनतामा निरासा छाएको बताइन् । साथै उहाँले यसअघिको सरकारले स्थापना गरेको भूमि समस्या समाधान आयोग खारेजीप्रति आपत्ति जनाउँदै भूमिहीनलाई जग्गाको पुर्जा पाउने र गाँसबासको व्यवस्था सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरिन ।

नेकपा ९माओवादी केन्द्र०का गोपीबहादुर सार्की अछामीले आफ्नो पार्टी सुरुदेखि नै परिवर्तनको पक्षमा रहेको उल्लेख गर्दै माओवादी कसैको वैशाखी टेकेर अघि नबढेको बताए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरी लोकतन्त्रमाथि प्रहार गरेकाले पाँच दलको गठबन्धनले प्रतिगमनविरुद्ध आन्दोलन गर्नु परेको बताए ।

एमालेका रामचन्द्र राईले जुनसुकै दल निकटको भए पनि भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै भ्रष्टाचार तथ्य प्रमाणले प्रमाणित हुने र भ्रष्टाचारीलाई कारबाही हुनुपर्ने माग गरे ।

नेपाली कांग्रेसका जितेन्द्रनारायण देवले हदबन्दीभन्दा बढीको जग्गा राज्यले कानुनअनुसार सार्वजनिक हितका लागि उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्